काठमाडौं । पाकिस्तानको इस्लामावादमा बुधबारदेखि सुरु भएको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धात्मक खेलमा कजाखस्तानसँग हार बेहोरेको छ ।
इस्लामावादस्थित गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा तुलनात्मक रूपमा बलियो मानिएको कजाखस्तानविरुद्ध नेपालले उत्कृष्ट चुनौती प्रस्तुत गरे पनि पाँच सेटको रोमाञ्चक प्रतिस्पर्धामा ३–२ ले पराजित भयो ।
कजाखस्तानले नेपाललाई २५–१९, २५–२१, ३२–३४, १९–२५ र १५–९ को सेटमा हराएको हो ।
खेलको सुरुवाती दुई सेटमा नेपाल केही पछि परेको थियो । तर तेस्रो सेटमा भने नेपालले शानदार पुनरागमन गर्दै कजाखस्तानलाई दबाबमा राख्यो । १७–१७ र १८–१८ को बराबरीपछि नेपालले केही समय पछि परे पनि उत्कृष्ट कमब्याक गर्दै खेलमा फर्किएको थियो ।
तेस्रो सेटमा नेपालले २४–२२ को अग्रता बनाएको थियो । तर कजाखस्तानले लगातार दुई अंक जोड्दै स्कोर २४–२४ को बराबरीमा पुर्यायो । त्यसपछि दुवै टोलीबीच निकै प्रतिस्पर्धा भयो । नेपाल र कजाखस्तानले पटक–पटक सेट प्वाइन्टका अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।
स्कोर ३०–३० पुगेपछि पनि रोमाञ्चक प्रतिस्पर्धा जारी रह्यो । अन्ततः नेपालले लगातार दुई अंक जोड्दै तेस्रो सेट ३४–३२ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
चौथो सेटमा पनि नेपालले सुरुवातदेखि नै अग्रता कायम राख्यो । उत्कृष्ट प्रदर्शन गर्दै नेपालले चौथो सेट २५–१९ ले जितेर खेललाई २–२ को बराबरीमा ल्यायो ।
निर्णायक पाँचौँ सेटमा भने कजाखस्तानले दबाब कायम राख्दै १५–९ को जित निकाल्यो । पाँच सेटसम्म खेल पुगेपछि कजाखस्तानले २ अंक तथा नेपालले १ अंक प्राप्त गरेको छ ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को कार्यक्रमअन्तर्गत पाकिस्तान भलिबल फेडेरेसनको आयोजनामा भइरहेको प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहेको छ । बुधबार नै उज्वेकिस्तान र बंगलादेश तथा आयोजक पाकिस्तान र श्रीलंकाबीच पनि प्रतिस्पर्धा हुनेछ ।
पाँच खेलाडीको सिनियर टिममा डेब्यु
कजाखस्तानविरुद्धको खेलमार्फत नेपालका पाँच खेलाडीले राष्ट्रिय सिनियर टोलीबाट डेब्यु गरेका छन् । राजेन्द्र धामी, हिमाल सुनारी, दिपेश कुँवर, सुरज चुनारा र सरोज बर्देवाले पहिलो पटक सिनियर टोलीबाट खेल्ने अवसर पाएका हुन् ।
हरिहजुर थापाको कप्तानीमा रहेको १२ सदस्यीय नेपाली टोलीमा यस पटक ६ नयाँ खेलाडी समावेश छन् । स्पाइकर राजेन्द्र धामीले पहिलो सेटको सुरुवाती प्लेइङ सेटमै स्थान बनाउँदै डेब्यु गरेका थिए भने त्यसपछि अन्य नयाँ खेलाडीले पनि कोर्टमा उत्रिने अवसर पाए ।