काठमाडौं । तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजय नेतृत्वको तमिलगा वेत्री कड्गम (टिभीके) पार्टीले लोकसभाका विपक्षी दलका नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको घटनाको विरोध गरेको छ।
टिभीकेले राहुल गान्धीलाई नियन्त्रणमा लिनु र हतकडी लगाएर लैजानु लोकतान्त्रिक अधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको आरोप लगाएको छ। पार्टीले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ, “देशको राजधानीमा लोकतन्त्रलाई दबाउने कार्य अत्यन्त निन्दनीय छ। दिल्लीमा युवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई समर्थन गर्न पुगेका राहुल गान्धीलाई प्रहरीले घिसार्दै नियन्त्रणमा लिनु र हतकडी लगाएर लैजानु लोकतान्त्रिक अधिकारमाथिको सीधा हमला हो। हामी यसको कडा भर्त्सना गर्दछौँ।”
टिभीकेले नीट (NEET) परीक्षाको विषयमा पनि सरकारको आलोचना गरेको छ। पार्टीले नीट लागू भएदेखि नै यसको विश्वसनीयतामाथि प्रश्न उठ्दै आएको र विद्यार्थीहरू निरन्तर मानसिक दबाबमा रहेको दाबी गरेको छ।
पार्टीले विद्यार्थीहरूको भविष्य अन्योलमा परेको उल्लेख गर्दै हरेक वर्ष नीट परीक्षाका कारण देखिने समस्याहरू समाधान हुन नसकेको आरोप लगाएको छ। टिभीकेले केन्द्र सरकारसँग नीट परीक्षा पूर्ण रूपमा खारेज गर्न मागसमेत गरेको छ।
यसअघि मंगलबार राहुल गान्धीको नेतृत्वमा कांग्रेस सांसदहरूले प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए। उनीहरूले प्रधानमन्त्री निवास ७ लोक कल्याण मार्ग बाहिर धर्ना दिएका थिए। प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। केही घण्टापछि उनीहरूलाई छत्रसाल स्टेडियमबाट रिहा गरिएको थियो।