पोखरा । कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा भएका श्रृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको आरोपमा चार विदेशी नागरिकसहित नौ जनालाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानअनुसार गिरोह कम्तीमा पाँच वटा चोरीका घटनामा संलग्न देखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा दुई भारतीय, दुई चिनियाँ र पाँच नेपाली नागरिक छन् । भारतीय नागरिक प्रत्यक्ष चोरीमा संलग्न हुने, चिनियाँ नागरिकले चोरीअघि लक्ष्य बनाइएका घरको रेकी गर्ने तथा नेपाली सहयोगीले घर देखाउने र चोरीका सामान किनबेचमा सहयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार गिरोहले असार महिनामा पोखराका विभिन्न स्थानमा भएका पाँच वटा चोरीका घटनामा सुनचाँदीका गरगहना, नगद, मोबाइल र ल्यापटप चोरी गरेको देखिएको छ ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट नौ थान मोबाइल, एक थान स्मार्ट घडी, एक थान ल्यापटप, करिब १५ तोला सुनका ढिक्का तथा टुक्रा र दुई लाख ८१ हजार २२० रुपैयाँ नगद बरामद गरेको जनाएको छ ।
उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी वडा प्रहरी कार्यालय बैदाममार्फत थप अनुसन्धान भइरहेको पासवानले बताए ।
यसैबीच, कास्की प्रहरीले सार्वजनिक बसमा यात्रुको पर्स चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । असार ३२ गते रूपा गाउँपालिकाबाट पोखरा आउँदै गरेको बसमा एक यात्रुको पर्स चोरी गरेको आरोपमा रौतहटका गुरुप्रसाद बजगाईं, रविन खड्का र झापाका टेकबहादुर भुजेल पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरूको साथबाट चोरी भएको सुनको हार, चाँदीको औँठी र नगद बरामद गरेको जनाएको छ । उनीहरूमाथि पनि सम्बन्धित कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।