नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पहिलो हाइड्रोजन–सञ्चालित रेलको उद्घाटन गरेका छन् । यो रेल उत्तरी राज्य हरियाणाको ८९ किलोमिटर लामो जिन्द–सोनिपत रेलमार्गमा सञ्चालन हुनेछ ।
स्वदेशमै विकसित हाइड्रोजन इन्धन सेल प्रविधिको प्रयोग गरेर भारतमा पहिलो पटक रेल सञ्चालन गरिएको हो । हाइड्रोजन इन्धन सेलमार्फत विद्युत उत्पादन गर्ने यो प्रविधिलाई डिजेलबाट चल्ने रेलको तुलनामा बढी स्वच्छ र वातावरणमैत्री विकल्प मानिएको छ ।
यससँगै भारत हाइड्रोजन रेल सञ्चालन गर्ने चीन, जर्मनी, जापान र अमेरिका जस्ता सीमित देशहरूको समूहमा समेत समावेश भएको छ ।
अधिकारीहरूका अनुसार रेलको मुख्य प्रणालीमा १,२०० किलोवाट क्षमताको ‘प्रोटोन एक्सचेन्ज मेम्ब्रेन फ्युल सेल’ जडान गरिएको छ । यसले हाइड्रोजन र अक्सिजनबीच हुने रासायनिक प्रतिक्रियामार्फत विद्युत उत्पादन गर्छ । यो प्रक्रियाबाट उप–उत्पादन (बाइप्रोडक्ट) का रूपमा केवल पानीको बाफ र ताप मात्रै उत्सर्जन हुने भएकाले यसलाई रेल यातायातको सबैभन्दा स्वच्छ माध्यममध्ये एक मानिन्छ ।
१० वटा कोच रहेको यो रेललाई अधिकतम ७५ किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन गर्न अनुमति दिइएको छ भने यसको डिजाइन गति ११० किलोमिटर प्रतिघण्टा रहेको छ । रेलमा करिब २,६०० यात्रुले यात्रा गर्न सक्ने क्षमता रहेको छ ।