काठमाडौं। “शिक्षक पाठ्यक्रम पूरा गर्नुपर्ने दबाबमा हुन्छ। शिक्षकलाई थाहा हुन्छ—विद्यार्थीले सिक्नुपर्ने जति सिकेका छैनन्, सिकाइ पनि पूर्ण भएको छैन, तर अर्को पाठ सुरु गर्नुपर्ने बाध्यता आइपर्छ।”
साढे तीन दशक सामुदायिक विद्यालयमा अध्यापन गरेका एक शिक्षकको यो स्वीकारोक्तिले नेपाली शिक्षण प्रणालीको यथार्थलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्छ। यदि उनी केवल शिक्षक मात्र भएका भए, सम्भवतः यति निष्कपट आत्मसमीक्षा सार्वजनिक हुने थिएन। तर शिक्षकसँगै लेखक र पत्रकारको भूमिका निर्वाह गरेका गोविन्द लुइँटेलले आफ्ना अनुभव, आत्मसमीक्षा र शिक्षाप्रतिको दृष्टिलाई साहित्यिक रूप दिएर पाठकमाझ प्रस्तुत गरेका छन्।
हालै प्रकाशित ‘कक्षाकोठामा ३५ वर्ष’ मा लेखक लुइँटेलले २१ वटा अनुभव–निबन्धमार्फत आफ्ना साढे तीन दशकका शिक्षण अनुभवलाई अभिलेखीकरण मात्र गरेका छैनन्, नेपाली शिक्षा सुधारका सम्भावित मार्गहरू पनि औँल्याएका छन्। पुस्तकका हरेक निबन्धले शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापनबीचको सम्बन्धलाई गहिराइबाट केलाउँदै शिक्षण–सिकाइ प्रक्रियाका विविध आयाममाथि विमर्श गर्छ।
पुस्तकमा शिक्षकले आफूलाई सहजै भेट्न सक्ने शैली अपनाइएको छ। शिक्षकले कसरी पढाउने, विद्यार्थीले कसरी सिक्ने, प्रधानाध्यापकको नेतृत्व कस्तो हुनुपर्ने, अभिभावकको भूमिका के हुने तथा सिकाइलाई प्रभावकारी बनाउन सबै पक्षको जिम्मेवारी कस्तो हुनुपर्छ भन्ने प्रश्नहरूलाई लेखकले गम्भीर रूपमा उठाएका छन्।
लेखकको मूल सन्देश स्पष्ट छ—शिक्षण केवल पाठ्यपुस्तकको ज्ञान हस्तान्तरण गर्ने प्रक्रिया होइन; यो शिक्षक र विद्यार्थीबीचको निरन्तर संवाद, अनुभव, सम्बन्ध र जीवनबोधको यात्रा हो। यही यात्राका विविध आयामलाई उनले आत्मीय, सरल र संस्मरणात्मक शैलीमा प्रस्तुत गरेका छन्।
ओरिएन्टल पब्लिकेसनद्वारा प्रकाशित यस कृतिका प्रत्येक आलेखले नेपाली विद्यालय शिक्षाको भित्री संसारलाई नजिकबाट नियालेको अनुभूति दिलाउँछ। साढे तीन दशकभन्दा लामो शिक्षण अनुभव बोकेका लेखकले शिक्षकका रूपमा भोगेका चुनौती, विद्यार्थीका स्वभाव र अपेक्षा, प्रधानाध्यापकको भूमिका, शिक्षक–अभिभावक सम्बन्ध तथा कक्षाकोठाभित्रका साना–ठूला घटनालाई जीवन्त रूपमा चित्रण गरेका छन्। यस अर्थमा यो पुस्तक केवल लेखकको व्यक्तिगत अनुभवको सङ्ग्रह होइन, एउटा शिक्षकको व्यावसायिक जीवनयात्राको दस्तावेज पनि हो।
शिक्षालाई व्यवहार र अनुभवसँग जोडेर हेर्ने लेखकको दृष्टिकोण पुस्तकको सबल पक्ष हो। कक्षाकोठामा सामान्य लाग्ने घटना, विद्यार्थीका जिज्ञासा, उनीहरूको मनोविज्ञान तथा शिक्षकका संवेदनालाई उनले रोचक र आत्मीय शैलीमा अभिव्यक्त गरेका छन्। पुस्तक पढ्दै जाँदा पाठकले आफ्नै विद्यालय जीवन, शिक्षक र सहपाठीसँग जोडिएका स्मृतिहरू पुनः सम्झने अवसर पाउँछन्। लेखकले ‘म’ पात्रको प्रयोग गरे पनि त्यसमा अधिकांश शिक्षकका साझा अनुभव प्रतिबिम्बित भएका छन्।
संस्मरण र निबन्धको मिश्रित शैलीमा लेखिएको यो कृति विशेषगरी शिक्षक, विद्यार्थी, अभिभावक, शैक्षिक नेतृत्व तथा शिक्षा क्षेत्रमा रुचि राख्ने पाठकका लागि उपयोगी छ। पुस्तकले विद्यालय शिक्षाका सकारात्मक पक्ष मात्र होइन, सुधार आवश्यक रहेका विषयहरू पनि स्पष्ट रूपमा औँल्याएको छ। शिक्षक–विद्यार्थी सम्बन्धमा विश्वास, संवाद र सहकार्यको महत्त्वलाई विशेष रूपमा जोड दिँदै बदलिँदो शैक्षिक परिवेशमा शिक्षकको भूमिकामाथि पुनर्विचार गर्न प्रेरित गर्छ।
सेवानिवृत्तिको सङ्घारमा प्रकाशित यो कृति लेखकले बिताएका ३५ वर्षको अनुभवको सार हो। कक्षाकोठाभित्र देखेका, भोगेका र अनुभूत गरेका पक्षलाई शब्दमा उतारिएकाले यसलाई नेपाली शिक्षा क्षेत्रको अनुभवमूलक दस्तावेजका रूपमा लिन सकिन्छ।
पुस्तकको निष्कर्ष पनि सशक्त छ। विद्यार्थीको समस्या उसकै दृष्टिकोणबाट नबुझेसम्म शिक्षकले सही मार्गदर्शन गर्न सक्दैनन्। त्यसैगरी शिक्षक, विद्यार्थी, अभिभावक र अन्य सरोकारवालाको वास्तविक आवश्यकता राज्य र सम्बन्धित निकायले नबुझेसम्म शिक्षा सुधार सम्भव हुँदैन भन्ने सन्देश पुस्तकले दिएको छ।
यसका साथै पुस्तकले शिक्षकको हैसियत, स्वाभिमान, मर्यादा, पीडा र दायित्वलाई घटनामूलक शैलीमा प्रस्तुत गरेको छ। विद्यार्थीले शिक्षकको अपेक्षा बुझेका छन् कि छैनन्, शिक्षकले विद्यार्थीको आवश्यकता अनुसार पढाएका छन् कि छैनन् भन्ने दुवै पक्षलाई लेखकले समान रूपमा उठाएका छन्। शिक्षक, विद्यार्थी र अभिभावकबीच देखिएका दूरीलाई कसरी घटाउन सकिन्छ भन्ने विषयमा पनि पुस्तकले मार्गनिर्देशन गर्ने प्रयास गरेको छ। शिक्षालाई आम्दानीसँग जोडिने सीपसँग एकीकृत गर्न सके नेपाली शिक्षा सुधारको यात्रा सहज बन्ने लेखकको निष्कर्ष रहेको छ।
समग्रमा, ‘कक्षाकोठामा ३५ वर्ष’ ले शिक्षण पेसाको गरिमा, शिक्षक–विद्यार्थी सम्बन्धको आत्मीयता र विद्यालय जीवनका अनुभव व्यक्तिगत मात्र नभई समाजका साझा सम्पत्ति हुन् भन्ने सन्देश दिन सफल भएको छ। नेपाली शिक्षा प्रणालीको यथार्थ बुझ्न चाहने जो–कोहीका लागि यो पुस्तक पठनीय मात्र होइन, सङ्ग्रहणीय पनि बन्न सक्छ। पुस्तक बिक्रीबाट प्राप्त आम्दानीको आधा रकम ‘कृष्ण–बिन्दा शिक्षाकोष’ मा जम्मा गर्ने लेखकको घोषणा शिक्षा सुधारप्रतिको उनको सामाजिक प्रतिबद्धताको अर्को सशक्त उदाहरण हो।
यद्यपि, पुस्तकका केही सीमित पक्ष पनि छन्। अनुभव–निबन्धका रूपमा प्रस्तुत गरिए पनि कतिपय आलेख कथा, कतिपय संस्मरण र केही घटना–विवरणजस्ता देखिन्छन्। यसले पुस्तकलाई शैलीगत विविधता दिएको भए पनि विधागत एकरूपतामा केही प्रश्न उठाउँछ। साथै, घटनामा आधारित संस्मरण प्रस्तुत गर्दा वास्तविक पात्र वा नामहरूको उल्लेख गरिएको भए पुस्तक अझ विश्वसनीय, जीवन्त र प्रभावशाली बन्ने थियो।