काठमाडौँ । देशभर हाल मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
महाशाखाका अनुसार यही मौसमी प्रणालीको प्रभावले अहिले देशभर साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही तथा बागमती प्रदेशका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी, कोशी प्रदेशको तराईका केही, मधेस तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।