काठमाडौँ । पूर्व अर्थमन्त्री तथा एमाले नेता विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूरक अभियोगपत्र दर्ता गर्ने तयारी गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले पौडेलसहितका प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्न लागेको हो।
विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता भिमसेन काफ्लेका अनुसार, यसअघि दीपक भट्टसहितका प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भइसकेकाले यसपटक पूरक अभियोगपत्र पेस गर्न लागिएको हो। उनले अनुसन्धान प्रतिवेदनको अन्तिम रुजु भइरहेको र साँझ ५ बजेसम्म विशेष अदालतमा अभियोगपत्र दर्ता गरिने जानकारी दिए।
अनुसन्धानका क्रममा स्रोत नखुलेको सम्पत्ति लुकाउन भूमिका खेलेको आरोपमा विष्णु पौडेललाई मतियारका रूपमा सजायको माग गर्दै अभियोगपत्र दर्ता गर्ने तयारी गरिएको जनाइएको छ।
पूरक अभियोगपत्रमा करिब ३३ करोड रुपैयाँ बराबरको रकम, विभिन्न स्थानका १५० रोपनीभन्दा बढी जग्गा तथा तीन लाख ७५ हजार कित्ता सेयर कारोबारलाई सम्पत्ति शुद्धीकरणसँग जोड्दै विशेष अदालतमा मुद्दा दर्ता गरिने तयारी रहेको स्रोतले जनाएको छ।