काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीसहित करिब ४० जनाले उम्मेदवारी फिर्ता लिएका छन्। नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान ९ बजेदेखि मतदान हुने भएको छ।
महाधिवेशन प्रचारप्रसार समितिले बुधबार साँझ खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिनेहरूको विवरण सार्वजनिक गरेको हो। समिति संयोजक एवं पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार सभापतिका उम्मेदवार किशोरसिंह राठौर तथा उपसभापतिका उम्मेदवार डा. मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएका छन्। उनले आफूले पनि उम्मेदवारी फिर्ता लिएको जानकारी दिए।
क्लस्टरतर्फ १५ जनाले उम्मेदवारी फिर्ता लिएको चालिसेले बताए। अन्तिम उम्मेदवारको नामावली केही समयपछि प्रकाशन गर्ने तयारी रहेको उनले जानकारी दिए।
महाधिवेशनमा सहभागी ७ हजारभन्दा बढी प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। मतदानका लागि काठमाडौंका तीन स्थानमा सात केन्द्र तोकिएका छन्। प्रतिनिधिको क्षेत्र तथा प्रतिनिधित्वका आधारमा राष्ट्रिय सभा गृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदानको व्यवस्था गरिएको छ।
चालिसेले महाधिवेशनमा ठूलो संख्यामा युवा उम्मेदवारको सहभागिताले नयाँ पुस्ता पार्टीको जिम्मेवारी सम्हाल्न तयार रहेको सन्देश दिएको बताए।
‘लगभग ४० जना उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ। क्लस्टरमा १५ जना उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ,’ उनले भने।
बन्दसत्रबाट सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रस्तुत गरेका प्रस्ताव पारित भएसँगै ती प्रतिवेदनले आगामी चार वर्षका लागि पार्टीले अघि बढ्ने नीति र दिशा तय गरेको पनि उनले बताए।