मध्यविन्दु। गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा सर्पदंशका घटना उच्च जोखिममा रहेको देखिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार आर्थिक वर्ष २०८२/८३ (साउनदेखि असारसम्म) जिल्लामा ६७० जना सर्पदंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन्। तीमध्ये २५ जनामा विषालु सर्पले टोकेको पुष्टि भएको छ।
तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा एक हजार २९ जना सर्पदंशका घटना दर्ता भएका थिए, जसमध्ये ५२ जनामा विषालु सर्पदंश भएको थियो। यसले जिल्लामा सर्पदंशका घटना केही घटेको संकेत गरे पनि जोखिम भने अझै उच्च रहेको देखिन्छ।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँका अनुसार तराईको भौगोलिक बनावट, घना वन, खेतीपाती र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा अन्य जिल्लाको तुलनामा सर्पदंशका घटना बढी हुने गरेका छन्।
उनले सर्पले टोकेपछि झारफुक वा घरेलु उपचारमा अल्झिनुभन्दा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह गरे। “सर्पदंशपछि बिरामीलाई सकेसम्म शान्त राखी तुरुन्त उपचारका लागि अस्पताल पुर्याउनुपर्छ,” उनले भने, “समयमै उपचार पाए अधिकांश बिरामीको ज्यान बचाउन सकिन्छ।” उनका अनुसार वर्षायाममा खेतबारीमा काम गर्दा जुत्ता लगाउने, रातिको समयमा टर्च प्रयोग गर्ने तथा घर वरिपरिको झाडी सफा राख्ने जस्ता सावधानी अपनाउन आवश्यक छ।
प्रदेशस्तरको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)पछि तनहुँमा २७९, कास्कीमा १८७, स्याङ्जामा १७७, लमजुङमा ९३, म्याग्दीमा ५७, गोरखामा ४६, बागलुङमा ३८ र पर्वतमा १६ सर्पदंशका घटना दर्ता भएका छन्। मनाङ र मुस्ताङमा भने कुनै पनि सर्पदंशको घटना अभिलेख भएको छैन।
गण्डकी प्रदेशभर पनि सर्पदंशका घटना घट्दो क्रममा देखिएका छन्। आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर एक हजार ५६० जना सर्पदंशका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन्, जसमध्ये ९२ जनामा विषालु सर्पले टोकेको पुष्टि भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा प्रदेशभर दुई हजार २०१ सर्पदंशका घटना र १८६ विषालु सर्पदंशका बिरामी दर्ता भएका थिए।
यसअघि आर्थिक वर्ष २०८०/८१ मा एक हजार ८७६, २०७९/८० मा एक हजार ७२४ र २०७८/७९ मा एक हजार ४४१ सर्पदंशका घटना अभिलेख भएका थिए।
प्रमुख चापागाईँले वर्षायाममा सर्पको गतिविधि बढ्ने भएकाले व्यक्तिगत सावधानी अपनाउन र सर्पले टोकेपछि कुनै ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुग्न आग्रह गरे। उनका अनुसार समयमै उपचार नै सर्पदंशबाट हुने मृत्यु रोक्ने सबैभन्दा प्रभावकारी उपाय हो।