काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज नेपाल तथा विदेशका विभिन्न स्थानमा विविध सांस्कृतिक, साहित्यिक र धार्मिक कार्यक्रम आयोजना गरी मनाइँदैछ।
संस्कृत भाषामा रचित अयोध्याका राजा रामको जीवनकथालाई नेपाली भाषामा सरल भावानुवाद गर्दै ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली भाषा र साहित्यलाई अमूल्य योगदान दिएका छन्। उनले रचेको नेपाली रामायण आज पनि घरघरमा श्रद्धापूर्वक सस्वर पाठ गरिन्छ।
भौगोलिक रूपमा नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहजस्तै भानुभक्तले नेपाली भाषा, साहित्य र संस्कृतिमार्फत राष्ट्रिय एकता र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्त एक सामान्य घाँसीसँगको प्रेरणादायी भेटपछि समाजका लागि स्मरणीय काम गर्न उत्प्रेरित भएका थिए। यही प्रेरणाले उनलाई रामायणलाई नेपाली भाषामा अनुवाद गर्न उत्साहित बनाएको विश्वास गरिन्छ।
‘रामायण’का अतिरिक्त ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ तथा अन्य फुटकर रचनाहरू पनि उनका चर्चित कृतिहरू हुन्। नेपाली भाषा, साहित्य, राष्ट्रिय चेतना र सांस्कृतिक पहिचानको विकासमा उनको योगदान ऐतिहासिक रूपमा स्मरणीय छ।
भानु जयन्तीको अवसरमा आज देशभर आदिकविको प्रतिमामा माल्यार्पण, प्रभातफेरी, रामायण वाचन तथा साहित्यिक कार्यक्रमहरू आयोजना गरिएका छन्। काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा रहेको भानुभक्तको प्रतिमामा विशेष श्रद्धाञ्जली कार्यक्रम पनि सम्पन्न हुँदैछ।
यस अवसरमा भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद् तथा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले विशेष कार्यक्रम आयोजना गरेका छन्।
नेपालबाहेक भारतका दार्जिलिङ र सिक्किम, भुटान, म्यानमार (बर्मा) लगायत नेपाली भाषी समुदाय बसोबास गर्ने विभिन्न देश तथा स्थानमा पनि भानु जयन्ती उत्साहका साथ मनाइँदै आएको छ।