नवलपरासी — नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिकाले कृषि उत्पादन वृद्धि तथा आधुनिक खेती प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले यहाँका किसानलाई रु. ९२ लाख बराबरका आधुनिक कृषि सामग्री अनुदानमा वितरण गरेको छ।
नगरपालिकाको कृषि विकास शाखाका प्रमुख गगन भट्टराईका अनुसार कृषि नवप्रवर्द्धन साझेदारी परियोजनाअन्तर्गत नगरपालिका र किसानको ५०–५० प्रतिशत लागत साझेदारीमा कृषि सामग्री उपलब्ध गराइएको हो। कार्यक्रममार्फत १३ भन्दा बढी कृषक समूह तथा ७० भन्दा बढी उद्यमी एवं व्यावसायिक किसान प्रत्यक्ष लाभान्वित भएका छन्। किसानको आवश्यकता र मागका आधारमा सामग्री वितरण गरिएको उनले जानकारी दिए।
वितरण गरिएका सामग्रीमा ३० वटा ६ हर्जपावरका हाते ट्याक्टर, २८ वटा ७ हर्जपावरका हाते ट्याक्टर, सात वटा धान काट्ने मेसिन, २१ वटा मकै रोप्ने मेसिन (ज्याब प्लान्टर), चार वटा पुस सिडर, १० वटा मकै छोडाउने मेसिन (कर्न थ्रेसर), छ वटा कुटानी–पिसानी मेसिन, एक वटा दाना बनाउने मेसिन, एक वटा तौल मेसिन, एक वटा धान तथा गहुँ काट्ने र थ्रेसिङ गर्ने कम्बाइन हार्भेस्टर तथा एक वटा ट्रेलर रहेका छन्।
कृषि विकास शाखाका अनुसार ठूला ट्याक्टर सञ्चालन गर्न कठिन हुने पहाडी क्षेत्रका किसानलाई लक्षित गर्दै हाते ट्याक्टर वितरण गरिएको हो।
यसै अवसरमा देवचुली–४ वडा कार्यालयले पनि किसानलाई तीन वटा ७ हर्जपावरका हाते ट्याक्टर, दुई वटा मकै रोप्ने मेसिन (ज्याब प्लान्टर), चार वटा पुस सिडर तथा दुई वटा कुटानी–पिसानी मेसिन वितरण गरेको छ। यी सामग्री खरिदका लागि वडा कार्यालयले रु. ३ लाख बजेट विनियोजन गरेको थियो।
देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले किसानको आर्थिक सशक्तीकरण र कृषि क्षेत्रको आधुनिकीकरणका लागि अनुदानमा कृषि उपकरण उपलब्ध गराइएको बताए। आधुनिक कृषि सामग्रीको प्रयोगबाट उत्पादनशीलता बढ्ने, कृषि व्यवसाय थप व्यवस्थित र प्रतिस्पर्धी बन्ने तथा किसानको आय र जीवनस्तरमा सकारात्मक सुधार आउने विश्वास व्यक्त गर्दै उनले कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।