काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका खोलाकिनाराबाट विस्थापित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।
गत वैशाखमा सरकारले उपत्यकाका नदी किनारामा बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई त्यहाँबाट हटाएको थियो। विस्थापित परिवारलाई हाल काठमाडौँको सुन्दरीघाटस्थित राधास्वामी सत्संग, रानीवन क्षेत्रको अपार्टमेन्ट, भक्तपुरको बोडे, नगरकोट खानेपानी क्षेत्र तथा बनेपास्थित रेडक्रस भवनलगायत सात स्थानमा व्यवस्थापन गरिएको छ।
विस्थापित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले गरिसकेका छन्। सोही तथ्यांकका आधारमा पहिचान भएका वास्तविक सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तयारी अघि बढाइएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
मन्त्रालयका एक अधिकारीका अनुसार पूर्वाधार मन्त्रालयबाट प्रक्रिया अघि बढाउन पत्र आएपछि भूमि मन्त्रालयले संकलित तथ्यांकका आधारमा सम्बन्धित जिल्लामार्फत जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु गर्न लागेको हो।
सरकारले पहिचान भएका सुकुम्बासीलाई व्यवस्थापन गर्ने उद्देश्यले सम्बन्धित जिल्लाबाट जग्गा वितरणको प्रक्रिया अघि बढाउन लागेको मन्त्रालयले जनाएको छ।