काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको बताएका छन् ।
सरकारको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । सरकारले २०८३ साल असार १८ गते हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारको पुनः सञ्चालन गर्ने निर्णयसँगै अर्थ मन्त्रालयबाट बजेट निकास भइसकेको पनि सचिव राउतले जानकारी दिए । पछिल्लो समयमा सातवटा बन्द भएका अथवा रुग्ण उद्योगहरूको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य (डिडिए) रिपोर्ट बनाउने काम भइरहेको पनि बताए । कसरी सञ्चालन गर्ने भन्नेबारेमा भने डिडिए रिपोर्ट आएपछि मात्रै तय हुने उनले बताए ।
उनले भने, ‘यस सम्बन्धमा अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र विशेष गरेर अर्थ मन्त्रालय हामी दुवैबाट यसमा पहलहरु भएका छन् र अहिले पछिल्लो समयमा सातवटा बन्द भएका अथवा रुग्ण उद्योगहरूको यो सम्पत्ति तथा दायित्वको मूल्यांकनको कार्य, डीडीए भन्छौं हामी त्यसलाई, यो काम अहिले जारी रहेको छ र त्यो डीडीएको रिपोर्ट आए पश्चात् यसको सञ्चालनको मोडालिटी के कस्तो हुने भन्नेकुरा सरकारले तय गरेर यसलाई अगाडि लाने क्रममा छौँ । र यही क्रममा अहिले नेपाल सरकार मन्त्रिपरिषद्बाट उदयपुर सिमेन्ट उद्योग लिमिटेडको चूनढुङ्गा खानी र रातो माटो खानीको जुन लाइसेन्सको अवधि सकिएको थियो, त्यो लाइसेन्सको अवधि लाइसेन्स प्रदान गर्नको लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ । र त्यसैगरी यो २०६९ साल माघ १२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट खारेजीमा गएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि परीक्षण उत्पादन गर्नको लागि नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ असार १८ गतेको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको छ । नेपाल सरकारको यो स्वीकृति प्राप्त पश्चात् अर्थ मन्त्रालयबाट बजेटको पनि निकासा भइसकेको हुनाले नेपाली सेनाबाट परीक्षण उत्पादनको कार्य अघि बढिरहेको छ ।’
उनले मन्त्रीपरिषद्बाट उदयपुर सिमेन्ट उद्योग लिमिटेडको चुनढुङ्गा खानी र रातो माटो खानीको लाइसेन्सको अवधि सकिएकोमा लाइसेन्सको अवधि थप गरी लाइसेन्स प्रदान गर्नको लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको पनि जानकारी दिए ।