काठमाडौँ । राष्ट्रिय धान दिवसका अवसरमा देशका विभिन्न स्थानमा धान रोपाइँसँग सम्बन्धित कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ।
यसै क्रममा उपसभामुख रुबीकुमारी ठाकुरले धनुषाको जनकपुरस्थित मुजेलिया क्षेत्रमा रहेको आफ्नै खेतमा पुगेर धान रोपाइँमा सहभागिता जनाएकी छन्।
कृषिसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको उल्लेख गर्दै उनी उपसभामुख निर्वाचित हुनुअघि पनि नियमित रूपमा खेतबारीको काममा संलग्न रहने गरेको जनाइएको छ। उनका बुबाआमा पनि कृषिमा आबद्ध किसान हुन्।
हरेक वर्ष १५ असारमा मनाइने राष्ट्रिय धान दिवस धान खेतीको महत्त्व उजागर गर्नुका साथै कृषिप्रति आकर्षण बढाउने उद्देश्यका साथ देशभर विविध कार्यक्रमसहित मनाइँदै आएको छ।