काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी करिब २५ वर्षदेखि विभागमा थन्किएका हजारौं मुद्दा तथा अनुसन्धान फाइल खोजी, व्यवस्थापन र डिजिटल अभिलेखीकरण (डिजिटलाइजेसन) गर्ने काम वैदेशिक रोजगार विभागले तीव्र बनाएको छ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको निर्देशन र विभाग महानिर्देशक मिरा आचार्य नेतृत्वमा लामो समयदेखि अलपत्र अवस्थामा रहेका मुद्दा तथा अनुसन्धानसम्बन्धी फाइलहरू खोज्ने, वर्गीकरण गर्ने र व्यवस्थित अभिलेख तयार गर्ने अभियान अघि बढाइएको विभागले जनाएको छ।
वि.सं. २०४२ मा वैदेशिक रोजगार ऐन जारी भएपछि श्रम विभागमार्फत वैदेशिक रोजगारसम्बन्धी काम हुँदै आएको थियो। त्यसपछि वि.सं. २०५६ मा श्रम तथा रोजगार प्रवर्द्धन विभाग स्थापना भएसँगै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकका गुनासा तथा उजुरीहरू त्यहीँ दर्ता हुन थालेका थिए। वि.सं. २०६४ मा वैदेशिक रोजगार विभाग गठन भएपछि ती सबै जिम्मेवारी विभागमा हस्तान्तरण भएका थिए।
विभागका अनुसार अभिलेख व्यवस्थापनका क्रममा वि.सं. २०५७ सालदेखिका मुद्दा तथा अनुसन्धानसम्बन्धी महत्त्वपूर्ण फाइल समेत फेला परेका छन्। करिब २५ वर्षदेखि डम्प अवस्थामा रहेका हजारौं फायल खोजी गरी सालअनुसार वर्गीकरण गर्दै भौतिक अभिलेख तयार गर्ने काम सम्पन्न भइसकेको छ।
यससँगै ती फाइलको स्क्यानिङ गरी डिजिटल प्रतिलिपि तयार गर्ने काम पनि तीव्र गतिमा भइरहेको विभागले जनाएको छ। आगामी दिनमा मुद्दा तथा अनुसन्धान प्रक्रियालाई अझ प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ प्रणाली विकास गर्ने तयारीसमेत गरिएको छ।
वि.सं. २०५७ सालयताका उपलब्ध सबै फाइलहरूको विवरण डिजिटल प्रणालीमा अद्यावधिक गरी न्याय सम्पादन प्रक्रियासँग आबद्ध गर्ने विभागको योजना छ। यसबाट लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका वैदेशिक रोजगार ठगीका पीडितले छिटो, पारदर्शी र प्रभावकारी सेवा पाउने अपेक्षा विभागको छ।