काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को तयारीलाई तीव्रता दिँदै पोखरा एभेन्जर्सले आगामी संस्करणका लागि कायम राखिएका (रिटेन्सन) तथा रिलिज गरिएका खेलाडीहरूको आधिकारिक घोषणा गरेको छ।
फ्रेन्चाइजले आगामी सिजनमा बलियो र प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने लक्ष्यसहित आफ्नो मुख्य खेलाडी समूहलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ। टोलीले मार्की खेलाडी कुशल भुर्तेललाई पुनः कायम राख्दै अर्जुन कुमाल, दिनेश खरेल, विपिन खत्री, आकाश चन्द, सागर ढकाल तथा किरण कुमार ठगुन्नालाई पनि सिजन-३ का लागि टोलीमै राखेको छ।
पोखरा एभेन्जर्स व्यवस्थापनका अनुसार अनुभव, प्रतिभा र सम्भावनाको सन्तुलित संयोजन रहेको यो समूहले आगामी सिजनमा टोलीलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
यता, सिजन-३ को रणनीतिक योजनाअनुसार फ्रेन्चाइजले कृष्ण पौडेल, त्रितराज दास, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री तथा रोहित चन्दलाई रिलिज गर्ने निर्णय गरेको छ। क्लबले रिलिज गरिएका सबै खेलाडीप्रति उनीहरूको समर्पण, व्यावसायिकता र योगदानको उच्च प्रशंसा गर्दै आगामी क्रिकेट यात्राका लागि शुभकामना व्यक्त गरेको छ।
पोखरा एभेन्जर्सले अब एनपीएल सिजन-३ को खेलाडी अक्सनमा आफ्नो ध्यान केन्द्रित गर्ने जनाएको छ। टोली व्यवस्थापनले अक्सनमार्फत आवश्यक स्थानमा थप गुणस्तरीय खेलाडी भित्र्याउँदै अझ सन्तुलित र प्रतिस्पर्धी टोली निर्माण गर्ने लक्ष्य लिएको छ।
फ्रेन्चाइजले बलियो आधार तयार गरिसकेको उल्लेख गर्दै आगामी सिजनमा उत्कृष्ट प्रदर्शनमार्फत समर्थकहरूको अपेक्षा पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।