बेनी । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले रहरलाग्दो सफलता प्राप्त गरेका छन् ।
बेनी नगरपालिका–७ कुरिलाखर्कका ४२ वर्षीय सुरेश ढुंगानाले गाई भैँसी पालनबाट आकर्षक कमाई गरी सफलता प्राप्त गरेका हुन् । करिब एक दशक लामो वैदेशिक रोजगार त्यागेर विसं २०७२ देखि पशुपालन सुरु गरेका ढुंगाना जिल्लामा गाई भैँसी धेरै पाल्ने सफल अगुवा कृषकका रूपमा परिचित छन् ।
सुरुमा एकरएक वटा गाई र भैँसी खरिद गरेर ‘ढुंगाना कृषि तथा पशुपक्षी फार्म’ सञ्चालनमा ल्याएका उनले अहिले दैनिक ३०० लिटर दूध बिक्री गर्दै आएका छन् । उनको फार्ममा अहिले ४५ वटा माउसहित ५० वटा गाई भैँसी छन् । उनले दैनिक रूपमा करिब ३५ हजार बराबरको दूध बिक्री गर्दै आएका छन् । ढुंगानाको फार्ममा उन्नत जातका मुर्रा भैँसी तथा होलस्टेन र जर्सी गाई पालन हुँदै आएको छ ।
“एक दशक बढी समय खाडी मुलुकमा पसिना बगाएँ, आफ्नै गाउँ फर्किएर पशुपालन र कृषिबाटै अघि बढ्ने लक्ष्यका साथ वैदेशिक रोजगारलाई बिट मारेको थिएँ, आज आफैँले सुरु गरेको कर्मबाट सफलता मिलेको छ, यो पेसाबाट खुसी र सन्तुष्टि छु”, ढुंगानाले भने ।
पशुपालनबाट ढुंगानाले आफू स्वरोजगार र आत्मनिर्भर मात्रै बनेको छैन, अन्य पाँच जनालाई नियमित रूपमा रोजगारीको अवसर सिर्जना गरेका छन् । उनको फार्ममा तीन जनाले आवासीय रूपमा नै रोजगारमा आबद्ध छन् भने अन्य दुई जना दैनिक रूपमा फार्ममा कामका लागि आउने गर्छन् । बिहान सबेरैदेखि राति अबेरसम्म फार्मका गाई भैँसीको घाँस, पानी र स्याहारमा खटिने ढुंगानाले अरूको देशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँ ठाउँमा रहेका सम्भावनामा भविष्य खोज्नुपर्ने बताउँछन् ।
ढुंगानाको फार्ममा उत्पादन हुने दूध बेनी बजारकै धौलागिरि डेरी उद्योगमा खपत हुने गरेको छ । बेनी बजारदेखि नजिकको दूरीमा फार्म सञ्चालन भएकाले उनले मोटरसाइकलमै दूधका क्यान राखेर दूध ढुवानी गर्दै आएका छन् ।
फार्ममा बिहान १:०० बजेदेखि र दिउँसो २:०० बजेसम्म गाई भैँसी दुहुन सुरु गर्ने र ४:०० बजेको समयभित्र उद्योगमा दूध ढुवानी गरी पुर्याउने समय तालिका छ । डेरी उद्योगले प्रतिलिटर १२० रुपैयाँमा दूध खरिद गर्दै आएको छ । दूध उत्पादन नियमित हुने र डेरी उद्योगले सहजै खरिद गर्ने भएकाले दूध बिक्रीका लागि थप बजारको खोजी गर्नुपर्ने बाध्यता रहेको छैन ।
कुरिलाखर्कमा आफ्नै पुर्ख्यौली जग्गामा फार्म सञ्चालन गरेका ढुङ्गानाले पशुपालनबाट भएको आम्दानीबाट थप जग्गा खरिद गरी फार्मको क्षमता बढाएका छन् । उनको फार्ममा पूर्वाधार र गाई भैँसी खरिदमा अहिलेसम्म साढे दुई करोड बढी लगानी भइसकेको छ । जिल्लामै ठूलो र नमुना फार्मका रूपमा विकास भइरहेको यस फार्मको अवलोकनका लागि विभिन्न ठाउँबाट कृषक पुग्ने गरेका छन् । पशुपालनबाट सफलता प्राप्त गरेका युवा कृषक ढुङ्गानाले जिल्ला स्तर र प्रदेश स्तरबाट विभिन्न पुरस्कार प्राप्त गरिसकेका छन् ।
विसं २०८० मा ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट पुरस्कृत भएको थियो । व्यवस्थित र व्यावसायिक रूपमा पशुपालन गरेका ढुङ्गानाले स्थानीय, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयबाट प्राप्त सहयोगले आफूलाई पशुपालन गर्न हौसला थपिएको बताउँछन् । फार्मबाट गाई भैँसीको गोबर मल बिक्री हुने गरेको छ ।
बेनी नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतमले ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म नगरपालिका र जिल्लामै उत्कृष्ट रहेको बताए । उनले पशुपालक कृषकलाई नगरपालिकाबाट औषधि उपचारमा प्राविधिक सहयोगका साथै विगत तीन वर्षदेखि नगरपालिकाले उत्पादनमा आधारित अनुदानसमेत उपलब्ध गराउँदै आएको जानकारी दिए ।