काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र साह तत्काल संसद आउन नसक्ने बताएका छन् ।
सोमवार सिंहदरवारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्ष दलहरुले राखेपछि उनले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताएका हुन् । सभापति लामिछानेले सरकारको तर्फबाट उक्त विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने पनि बताए । परराष्ट्रमन्त्रीको जवाफ चित्त नबुझे आफूले जवाफ दिने सभापति लामिछानेको भनाई थियो । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र साहमाथि उठाइएको प्रश्नको जवाफ परराष्ट्रमन्त्री खनालले दिने बताएको जानकारी दिए। उनले प्रधानमन्त्री साह तत्काल संसदमा आउन नसक्ने पनि बताएको उनले भने । बैठकले आफूहरुले प्रधानमन्त्रीले जवाफ नदिई अघि बढ्न नसकिने कुरा राखेको पनि प्रमुख सचेतक महरले बताए ।
उनले भने,‘यो गम्भिर विषय हो प्रधानमन्त्रीको स्टेटमेन्ट । हामी संसद खोल्न तयार छौँ । संसद अवरोध गर्ने हाम्रो रहर चाहना होइन । हामी पनि यसबाट मर्माहत भएका छौ । बजेट आएको छ । अरु कुरा आएको छ । धेरै इस्युहरु छ । ती विषयहरुमा छलफ गर्नुपर्नेछ । तर संसद खोल्ने वातावरण बनाउनुहोस् भनेर हामीले आग्रह गर्यौं । त्यो भनेको प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिने । यो असाध्यै गम्भिर विषय हो । यो असाध्यै सिरियस विषय भएको हुनाले प्रधानमन्त्रीले संसदमा आएर नै जवाफ दिनुपर्छ । र, यसमा स्पष्ट बनाउनु पर्छ । यदि उहाँको त्यस्तो कुनै नियत होइन भने नत्र एउटा सार्वभौम देशको प्रधानमन्त्रीले अरु कुनै देशको भूमि मिचेको छ भन्ने संसदको रोष्टमबाट भन्ने कुरा यो असाध्यै राष्ट्रसँग जोडिएको, देशसँग जोडिएको विषय भएको हुनाले यो त्यति राम्रो हुँदैन । यो उहाँको रेकर्ड संसदबाट हटाउनु पर्दछ । यसलाई हामीले विस्मृतिमा लैजानु पर्दछ भनेर हामीले राखिसकेपछि सभापतिजीले दुई वटा कुरा गर्नुभयो । पहिलो कुरा हामी दलमा पनि छलफल गर्छौं । दोस्रो कुरा सदनमा परराष्ट्रमन्त्रीजीले जवाफ दिनुहुन्छ । परराष्ट्र मन्त्रीले जवाफ दिएपछि आवश्यकता प¥यो भने मैले पनि जवाफ दिन्छु तर तर अहिले प्रधानमन्त्री आउन सक्नु हुन्न । उहाँले त्यसो भनिसकेपछि हामीले त्यसो हुँदैन । प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भनेपछि बैठक सकियो ।’
बैठकमा सभापति लामिछानेले आफनो भारत भ्रमणबारे ब्रिफिङ गरेका थिए ।