फुटको संघारमा रहेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताएका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै ओलीले केहीले भनेजस्तो सर्वोच्च अदालतबाट संसद पुनर्स्थापना नहुने बताएका हुन्। बैठकमा सहभागी केन्द्रीय सदस्य खिमलाल भट्टराईका अनुसार ओलीले केन्द्रीय सदस्यहरूलाई चुनावमा केन्द्रित हुन पन निर्देशन दिएका छन्।
‘उहाँले प्रत्यक्षतर्फ १ सय २० र समानुपातिकमा ५० लाख भोट ल्याउने लक्ष्य राखेर काम गर्न भन्नुभयो,’ भट्टराईले भने। यसअघि गत आइतबार ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घो’षणा गरेका थिए। उक्त कदमविरूद्ध सर्वोच्च अदालतमा ११ रिट दर्ता भएका छन्।
ओली समूहले निर्वाचन आयोगमा पठायो केन्द्रीय कमिटी विस्तारको पत्र
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले नयाँ थप गरेका केन्द्रीय समिति सदस्यको विवरण निर्वाचन आयोगमा दर्ता गराएको छ। मंगलबार बालुवाटारमा बसेको ओली समूहको बैठकले नेकपा केन्द्रीय कमिटी विस्तार गरेको थियो।
मंगलबार दिउँसो पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ओली समूहको बैठकले ११सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ । यस्तै ओली समूहले पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकेको छ। सोही बैठकले २ मंसिर २०७८ मा महाधिवेशन गर्ने निर्णय गरेको छ।