काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने श्रीलंकामा हुने फ्रेन्चाइज लिगका लागि अनुबन्धित भएका छन्। उनलाई जाफ्ना किङ्सले टोलीमा समावेश गरेको हो।
प्रतियोगिताको खेलाडी छनोट क्रममा लामिछाने गोल्ड क्याटेगोरीमा सूचीकृत थिए। उक्त श्रेणीमा उनी करिब २० हजार अमेरिकी डलर (झण्डै ३० लाख रुपैयाँ) मूल्यमा खरिद भएका हुन्।
जाफ्ना किङ्सको नेतृत्व भानुका राजपाक्षेले गर्नेछन्। टोलीमा बंगलादेशका अनुभवी अलराउन्डर साकिब अल हसन सहित अन्तर्राष्ट्रिय तथा घरेलु खेलाडीहरूको उपस्थिति रहेको छ।
टिममा दिलशान मदुशंका, इब्राहिम जाद्रान, डेभिड विसी, अविष्का फर्नान्डो र चमिन्दु विक्रमासिंघे लगायतका खेलाडीहरू पनि समावेश छन्।