काठमाडौँ ।पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो सिजन युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्ने क्रममा पीएसजीले आर्सनललाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको हो ।
निर्धारित र थप गरिएको अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुङ्गिएको थियो । आर्सनलका तर्फबाट पेनाल्टी सुटआउटमा इबेरेची एजी र ग्याब्रिएल गोल गर्न चुकेपछि पीएसजीले फाइदा उठाएको हो ।
अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न नसकेको आर्सनल फाइनलमा पराजित भएको यो दोस्रो पटक हो । यसअघि सन् २००६ को फाइनलमा आर्सनल बार्सिलोनासँग पराजित भएको थियो ।
पीएसजी भने प्रतियोगिताकै इतिहासमा रियल म्याड्रिडपछि लगातार दुई वर्ष उपाधि जित्ने पहिलो टोली बनेको छ । पीएसजीका लुइस एनरिकले प्रशिक्षकका रूपमा तेस्रो पटक युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेका हुन् ।
निर्धारित समयको खेलमा आर्सनलले काइ हाभर्टेजको गोलबाट अग्रता लिएको थियो । तर, पीएसजीका ओसमन डेम्बेलेले पेनाल्टीमार्फत बराबरी गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।