लामो समयदेखि बन्द रहेको पशुपति मन्दिर आजदेखि खुला भएको छ । कोरोना संक्रमण जोखिमका कारण नौ महिनादेखि बन्द रहेको पशुपति मन्दिर स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनहरुका लागि आजदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
आजदेखि मन्दिर खुला गर्न हिजो क्षमापूजा गरिएको थियो । मन्दिर प्रवेश गर्ने दर्शनार्थीहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने कोषले जनाएको छ । पहिलो चरणमा दर्शनार्थीहरुलाई पश्चिम ढोकाबाट प्रवेश दिइने छ भने त्यही ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ ।
मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइनेछ । मन्दिर आजदेखि खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुने छैन ।
चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटकसमेत आएका छैनन् । मन्दिर नखुल्दा फूलप्रसाद बेच्न राखिएका पसल पनि नौ महिनादेखि बन्द रहँदा कोषलाई करोडौं घाटा लागेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउँछन् ।
नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो । महामारीलगायत कारण यति लामो समय मन्दिर बन्द रहेको इतिहास वंशावलीलगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि शोध गर्नुभएका कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले बताए ।