काठमाडौं महानगरले आज १० जना पत्रकारलाई सम्मान गरेको छ ।
महानगरबाट प्रवाह हुने सेवा तथा कामका विषयमा नियमित समाचार प्रकाशन–प्रसारण गरेर नागरिकको पहुँचसम्म सूचना पुर्याउन महत्वपूर्ण भूमिका खेलेका १० जना सञ्चारकर्मीलाई ‘सुशासन पत्रकारिता पुरस्कार’ प्रदान गरेको हो ।
सुशासन पत्रकारिताबाट सम्मानित हुनेमा कान्तिपुर टेलिभिजनबाट सिर्जना बाँस्तोला, खबरहव डटकम सविना कार्की, थाहाखबर डटकमका अतिन आचार्य, नयाँ पत्रिका दैनिकका प्रकाश धौलाकोटी, बिजमाण्डु डटकमका दिनेश खड्का, नामी साप्ताहिकका श्याम स्मृत, लहना न्यूज डटकमका सुरेन्द्रभक्त श्रेष्ठ, नेवा:युट्बाट बिजयरत्न असंबरे त्यस्तै संस्थागत तर्फ नेपाल भाषा टाइम्स र न्यूज एजेन्सी नेपालले पुरस्कार पाएका छन् ।
पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले नगद र प्रमाणपत्रसहित पुरस्कृत गरे ।
स्थापना दिवसका सन्दर्भमा महानगरले दुईजना जनप्रतिनिधि र दुईजना कर्मचारीलाई जनकमान श्रेष्ठ सुशासन पुरस्कार, पाँचजना जनप्रतिनिधि र पाँचजना कर्मचारीलाई स्थानीय सेवा गौरव पदक प्रदान गरेको छ । यस्तै, विभिन्न गुठी, बाजा र जात्राका एक सय ७६ जना गुरुहरूलाई नगद ३० हजार रुपैयाँसहित सम्मान गरेको छ ।