पढाइमा सानै देखि तेज थिए । सानो छँदा ममीले सधैँ इख बिनाको मान्छे र बिख बिनाको सर्प काम लाग्दैन । तिमीहरू ४ जना दिदी बहिनी मात्र छौँ, पछि दाजु भाइ नभएको भनेर हेप्छन्, त्यसैले तिमीले असल काम गरेर ठुलो मान्छे हुनुपर्छ भनेर सम्झाइरहनु हुन्थ्यो ।
ममीको यो भनाई र ए त्यस्तो त दाजुभाइ छैनन् भनेर गरिने प्रतिप्रश्नले हैरान भएको थिए । कसैले कति जना छोराछोरी भनेर सोध्दा ४ जना दिदी बहिनी हौँ भन्दा मुख खुम्च्याउनेहरूको अनुहार अहिले पनि झलझली आँखामा आउँछ । त्यसपछि के गर्दा समाजमा रहेका कुरीतिहरूको अन्त्य हुन्छ र कसरी समाजमा परिवर्तन आउँछ भनेर सोच्न थाले ।
कक्षा ६ मा पुगेपछि जुनियर रेडक्रस सर्कलमा आबद्ध भए । त्यसपछि मेरो जीवनले अर्कै मोड लियो । विभिन्न तालिम, गोष्ठी तथा कार्यक्रमहरूमा जान थाले । हामी जस्तै भर्खरै टिनएजमा प्रवेश गरेका साथीहरूसँग घुलमिल भए र उनीहरूको मनका कुरा पनि बुझ्न पाए । पढाई सँगै बाहिरी क्रियाकलापहरूमा पनि आबद्ध हुन थाले तर मेरो परिवारलाई भने सो कुरा मन परेको थिएन । पहिलो प्राथमिकता पढाई भन्ने उहाँहरूको कुरालाई आत्मसाथ गर्दै अभिनय तथा विभिन्न बाल क्लबहरूमा आबद्ध भए जहाँबाट मैले धेरै कुरा सिक्ने मौका पाए । गाउँमा हुर्किएकोले न त पत्रिकाको बारेमा ज्ञान थियो न त टिभीको बारेमा नै ? रेडियोमा समाचार चैँ कहिले कहिले सुन्ने गरेकै हो ।
पछि गाउँमा बिजुली आयो, घरमा टिभी ल्याउनु भयो । भर्खरै टिभी देख्दा मन कति फुरुङ्ग भएको थियो कल्पना पनि गर्न सक्दिन । त्यति बेला टिभीमा समाचार र केही कार्यक्रम मात्र आउँथ्यो । त्यहाँ टिभीमा बोलेको मान्छेहरू देखेर अचम्म लग्थ्यो । कसरी टिभीभित्र पुगेर बोल्छन् होला भनेर सोच मग्न हुन्थे ।
एक दिन जुनियर रेडक्रसको गोष्ठीमा झापाको कनकाई नगरपालिकामा अवस्थित कनकाई माध्यमिक विद्यालयमा गएको थिए । भित्तामा एउटा पत्रिका जस्तै टाँसेको थियो । जहाँ कविता, कथा चित्र लगायत थियो । के रहेछ भनेर निकै बेर हेरेपछि त्यो भित्ते पत्रिका रहेछ भनेर थाहा भयो । त्यसपछि मलाई पनि भित्ते पत्रिकामा मोह भयो । त्यति बेला म शिवंगञ्ज ५ मा पर्ने लालपानी माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्थे । साथीहरूसँग सल्लाह गरे र हामीले पनि त्यस्तै पत्रिका निकाल्ने अठोट गर्यौँ । त्यसपछि सृजनशील छात्रा क्लब गठन गरेर प्रत्येक हप्ताको शुक्रवार सृजनशील भित्ते पत्रिका निकाल्न थाल्यौ र जानी नजानी त्यो नै मेरो पत्रकारिता जगतमा पहिलो कदम भयो ।
ममीको यो भनाई र ए त्यस्तो त दाजुभाइ छैनन् भनेर गरिने प्रतिप्रश्नले हैरान भएको थिए । कसैले कति जना छोराछोरी भनेर सोध्दा ४ जना दिदी बहिनी हौँ भन्दा मुख खुम्च्याउनेहरूको अनुहार अहिले पनि झलझली आँखामा आउँछ । त्यसपछि के गर्दा समाजमा रहेका कुरीतिहरूको अन्त्य हुन्छ र कसरी समाजमा परिवर्तन आउँछ भनेर सोच्न थाले ।
नागरिक समाजसँग नजिक रहेको प्रो.प्रब्लिकसँग नजिक थिए जहाँबाट मैले भ्रष्ट्राचार सम्बन्धी शिक्षा पनि लिने मौका पाएको थिए । २०६१ सालमा झापाको बिर्तामोडबाट प्रकाशित हुने पूर्वाञ्चल दैनिकमा “भ्रष्ट्राचार नियन्त्रणमा नागरिक समाजको भूमिका” शीर्षकमा पहिलो पल्ट आर्टिकल पठाएको थिए । बुबाले त्यो पत्रिका किनेर ल्याउनुभयो, सबै जनाले मिलेर पढ्यौ र ममीले स्टिलको सानो दराजमा राख्नुभयो जुन आजसम्म पनि सुरक्षित छ । उता आर्थिक अभावले भित्ते पत्रिकालाई निरन्तरता दिन सकिनौ । खाजा खान दिएको २-२ रुपैयाँ उठाएर कति दिन पो चलाउन सकिन्थ्यो र ? तर मेरो पत्रकारिता मोह भने झन् जाग्दै गयो । अटोका पानाहरूमा पत्रकार हुन्छु भनेर लेख्न थाले मनमा पत्रकारिताको भूत चढ्यो जुन उत्रिने कुरा थिएन ।
समयसँगै २०६३ सालमा एसएलसी दिए । २०६४ सालमा राम्रो रिजल्ट आयो,अनि सुरु भने कता पढाउने के पढाउने भन्ने विषयमा छलफल । बुबाले साइन्स पढेर, नर्सिङ तिर जान आग्रह गर्नुहुन्थ्यो भने ममी इन्जिनियर बनाउने सोचमा हुनुहुन्थ्यो । आफूलाई भने पत्रकारिताको भूत चढेको थियो ।
बुबाले मेजर इङ्लिसलाई प्राथमिकता दिने सर्तमा झापाको बिर्तामोडमा रहेको कनकाई कलेजमा भर्ना भए तर त्यो कलेजसम्म पुग्न मलाई अत्यन्तै कठिन भयो । ५ किलोमिटर साइकल र १०.५ किलोमिटर बसमा यात्रा गरेर पत्रकारिता पढ्न गए । गाडीमा चढ्न उत्तिकै कठिन, बिद्यार्थीहरुलाई सेतो मच्चड भन्दै गाडीमा चढ्न नदिने । सुख दुख गरेर प्लस टू पढेर सके, पछि बिए पढ्नुको लागि झापाकै मनकामना कलेजमा भर्ना भए । त्यहाँ पनि त्यस्तै समस्या, गाडी चढ्नलाई एकदमै सकस, विद्यार्थी देख्ने बित्तिकै गाडीको स्टाफले ढोका नै छेक्ने । बिए पहिलो वर्षको परीक्षा दिएपछि काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजमा बिए दोस्रो वर्षमा भर्ना भए । र मदन भण्डारीबाट नै पत्रकारिता विषय लिएर स्नातकोत्तर सम्मको अध्ययन गरे । मेरो पत्रकारिताको मोहले गर्दा बाटोमा आउने हरेक बाधा र अवरोधलाई भुल्दै म पत्रकारिता क्षेत्रमा आए ।
झापामा केही मिडिया हाउसहरुमा प्रशिक्षार्थीको रूपमा काम गरे पनि मेरो पत्रकारिताको सुरुवात २०६९ सालबाट आर्थिक अभियान दैनिकबाट सुरु भएको हो । मैले सोचेको र देखेको भन्दा धेरै दुखी पेसा रहेको भएता पनि म सँग अब अरू अप्सन नै छैन । अन्य पेसामा आबद्ध रहेका साथीहरूलाई चिन्ने विभिन्न माध्यम हुन्छन् तर पत्रकारलाई कसरी चिन्ने ?
कुनै पनि अनलाइन न्युज पोर्टलमा सम्पादक हुनको लागि पत्रकारिता विषयमा स्नातक गरेको वा पत्रकारितामा ५ देखि १० वर्ष काम गरेको भनी नेपाल प्रेस काउन्सिलले प्रमाणित गर्ने व्यवस्था गर्ने हो भने नेपालमा अनलाइन न्यूजपोर्टलको सङ्ख्या होइन गुणस्तर बढ्नेछ । यसबारेमा नीति निर्माण गर्ने तहमा बस्ने व्यक्तिले बेलैमा विचार पुर्याउन आवश्यक देखिएको छ ।
पत्रकारिता अध्ययन गरेर र पत्रकारिता क्षेत्रमा नै केही गर्छु भनेर आएको म यहाँका विकृति दलाली,अनावश्यक चाकडीपन, पार्टीकारिता देखेर तर्सिन्छु । र चित्त नबुझेका केही कुरा फेसबुकमा लेख्छु । धेरैले सकारात्मक रूपमा लिनुहुन्छ भनेर केहीले झगडा गर्ने हेतुले म्यासेन्जरमा आउनु हुन्छ । एकातर्फ पत्रकारहरुले तलब नपाएर केही जमात आन्दोलनमा उत्रिएका छन् भने अर्को तर्फ दलाली र चाकडी गर्ने पत्रकारहरूको पनि कमी छैन ।
पत्रकारिता क्षेत्रमा बेथितिको बारेमा कुरा उठाउँदा धेरै साथीहरूले आफूसँग पत्रकारहरूले चिया खर्च, पेट्रोल खर्चलगायत मागेको गुनासाहरू गर्न थाल्नु भएको छ । उहाँहरूलाई केही प्रमाण भेला गर्नुहोस्, मैले गर्न सकेको सहयोग गर्छु भन्ने गरेको छु । म आफै त पत्रकारिता क्षेत्रमा भविष्य खोज्दै अगाडी बढेको छु, उहाँहरूलाई कसरी साथ र सहयोग गर्न सक्छु । हो म समाजमा भएका कुरीति, विसङ्गति, जातीय विभेदलगायतको कुरामा कलमको माध्यमबाट बोल्न सक्छु तर नेता र राजनीतिक दलको संरक्षण पाएर दलाली तथा अन्य कार्यमा लागेका पत्रकारहरूको बारेमा आवाज उठाउन सक्छु त ?
२०७७ साल असारमा कामको सिलसिलामा ३ दिनसम्म सूचना विभाग धाए । त्यो ३ दिन मैले पत्रकारिता क्षेत्रको बारेमा धेरै कुरा बुझ्ने मौका पाए । एक जना साधुको भेषमा (रातो कुर्था र धोती अनि दाह्री पालेको ) बाबा पनि आउनु भएको थियो । उहाँले अनलाइन दर्ता गर्ने प्रोसेसको बारेमा बुझ्नु भयो, मलाई उहाँको बारेमा खुब चासो लाग्यो र उहाँका केही क्रियाकलापहरू नियाली रहे । उहाँले कसैलाई फोन गरेर अनलाइन दर्ता गर्न लागेको बिए पास गरेको मान्छे खोज्नु पर्यो भन्नुभयो । म अचम्ममा परे र उहाँसँग केही प्रतिप्रश्न गर्न मन थियो तर हाम्रो काम सकिएर घर जान लागेको कुरा थाहा पाए पछि म घर फर्किए । त्यसको पर्सिपल्ट म त्यहाँ पुग्दा उहाँले अनलाइन दर्ता गरिसक्नु भएको रहेछ । त्यो त उदाहरण मात्र हो, लकडाउनमा पत्रकारको नाम लिएर खुलेआम हिँड्ने देखि लिएर तस्करसम्मले पत्रकारको परिचय पत्र भिर्छन् ।
अनलाइन दर्ता गर्न सजिलो भएकोले पनि धेरैको ध्यान पत्रकारिता क्षेत्र तर्फ बढ्दै छ । कुनै पनि अनलाइन न्युज पोर्टलमा सम्पादक हुनको लागि पत्रकारिता विषयमा स्नातक गरेको वा पत्रकारितामा ५ देखि १० वर्ष काम गरेको भनी नेपाल प्रेस काउन्सिलले प्रमाणित गर्ने व्यवस्था गर्ने हो भने नेपालमा अनलाइन न्यूजपोर्टलको सङ्ख्या होइन गुणस्तर बढ्नेछ । यसबारेमा नीति निर्माण गर्ने तहमा बस्ने व्यक्तिले बेलैमा विचार पुर्याउन आवश्यक देखिएको छ ।
केही साथीहरूले त मिडियामा पावर हुन्छ भन्दै ७ पुस्ता नाता नलाग्ने आफन्तको बिए पास गरेको सर्टिफिकेट ल्याएर अनलाइन दर्ता गराएर बसेको पनि यिनै आँखाले देखेको छु । यसरी अनलाइन दर्ता गर्दै जाने हो भने उनीहरूको निरीक्षण र सुपरिवेक्षण गर्न न त प्रेस काउन्सिलले सक्छ न त सरकारले नै ।
एकातर्फ ठुला मिडियाहरूका पत्रकारले तलब नपाएको पीडा सुन्नु परेको छ भने अर्को तर्फ पत्रकारिताको नाममा तस्करी र दलाली गरेका कुराहरू बाहिर आइरहेका छन् । म सोच्छु अब पत्रकारिताको भविष्य कता जादैछ ? आखिर को हुन् पत्रकार र कस्तालाई पत्रकार भन्ने ?
र अन्त्यमा पत्रकारिता क्षेत्र अहिले बदनाम बनिरहेको छ । यसलाई व्यवस्थित गर्न र बदनाम हुनबाट रोक्न सरकार, प्रेस काउन्सिल, सूचना विभाग, पत्रकार महासङ्घ तथा अन्य निकायले कस्तो भूमिका खेल्छन् हेर्न बाँकी नै छ तर पत्रकारिता पेसा बदनाम हुनबाट जोगाउन पहल गर्नु जरुरी देखिन्छ ।