बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ समकक्षी सी चिनफिङसँगको वार्ता ‘अत्यन्त सकारात्मक’ भएको बताएका छन् । ग्रेट हल अफ द पिपुलमा आयोजित भव्य समारोहमा राष्ट्रपति ट्रम्पले भने, “हामीले चिनियाँ प्रतिनिधिमण्डलसँग आज अत्यन्त सकारात्मक र फलदायी कुराकानी गरेका छौँ ।”
भेटका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सीलाई सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणका लागि आमन्त्रण पनि गरेका छन् ।
अमेरिकी राष्ट्रपति र प्रतिनिधिमण्डलको सम्मानमा आयोजित रात्रिभोज समारोहमा राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई सम्बोधन गर्दै ट्रम्पले भने, “सेप्टेम्बर २४ मा ह्वाइट हाउस भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी र प्रथम महिला पेङलाई निमन्त्रणा गर्न पाउनु मेरो लागि गौरवको विषय हो ।”
सहकार्यले अमेरिकालाई सहयोग पुर्याउने छ : नेता सी
यसैबीच, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तापछि आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै चीनको प्रगतिले अमेरिकालाई पुनः महान् बनाउन सक्ने बताएका छन् ।
ट्रम्पको ‘मागा’ अभियानलाई सङ्केत गर्दै नेता सीले भने, “चिनियाँ राष्ट्रको महान पुनरुत्थान हासिल गर्ने कार्य र अमेरिकालाई फेरि महान बनाउने काम पूर्ण रूपमा सँगसँगै चल्न सक्छ। यसले एक अर्कालाई सफल हुन मद्दत गर्न सक्छ र सम्पूर्ण विश्वको भलाइलाई अगाडि बढाउन सक्छ।”