कोभिड–१९ को सङ्क्रमणबाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित हुनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको सङ्क्रमणलाई जितेका छन् ।
कोभिड–१९ बाट हालसम्म ३० जनाभन्दा बढी सङ्घीय सांसद तथा केही प्रदेशमन्त्री, प्रदेशसभा सदस्य, नगर तथा गाउँपालिकाका प्रमुखसहितका जनप्रतिनिधि पनि कोरोनाबाट प्रभावित भइसकेका छन् । संवैधानिक अङ्गका पदाधिकारी मात्र होइन नेपाल सरकारका मुख्यसचिव समेतले कोभिड–१९ को सङ्क्रमणमा परेका छन् । नेपाली सेनामा उपरथि र प्रहरीमा प्रहरी नायब महानिरीक्षकसम्म सङ्क्रमित भइसकेका छन् ।
सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा बढीलाई रोगको लक्षण नदेखिने चिकित्सको भनाइ छ । सङ्क्रमितमध्ये १५ प्रतिशतमा केही कडा लक्षण देखिने गरेको छ भने पाँच प्रतिशतले आइसीयू तथा भेन्टिलेटर प्रयोग गर्नपर्ने हुनसक्ने अनुमान गरिएको छ ।
कोभिड–१९ का बिरामीलाई अस्पतालको श्ययामा राख्नु परेमा प्रतिव्यक्ति रु १५ हजार, सघन उपचार कक्ष (आइसीयू)मा भर्ना गर्नुपरेमा रु ७ हजार तथा आइसीयूमा भेन्टिलेटरसहितको सेवा दिन परेमा प्रतिदिन प्रतिव्यक्ति रु १५ हजारका दरले उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको छ । तुलनात्मकरूपमा गर्मीको तुलनामा चिसो मौसममा कोभिड–१९ को सङ्क्रमण बढ्छ भन्ने केहीमा मनोविज्ञान रहे पनि त्यो सही नभएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउँछन् ।
अहिले देखिरहेको प्रभावका आधारमा आगामी चार महिनामा बढीमा १ लाख ४५ हजार व्यक्ति थप सङ्क्रमण हुनसक्छन् भन्ने अनुमान गरी सुझबुझका साथ तयारीलाई व्यवस्थित गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री ढकालले भने, “कुनै राजनीतिक दल, लिङ्ग, जाति, तहतप्का, भूगोल र समुदाय विशेष भनेर नछुट्याउने साझा शत्रुका रूपमा रहेकाले कोरोनाविरुद्ध साझा मोर्चा निर्माण गरी यसमाथि विजय प्राप्त गर्नु आजको आवश्यकता हो ।”