काठमाडौं। च्याम्पियन नेपाल पुलिस क्लबकी उषा भण्डारी र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका फहाद राजा १०औं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। उषा लिगमा महिलातर्फ र पाकिस्तानी खेलाडी फहाद पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी बनेका हुन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न लिगको फाइनल खेलमा आफ्नो टोलीलाई च्याम्पियन बनाउन दुवै खेलाडीले उत्कृष्ट प्रदर्शनसहित महत्वपूर्ण भूमिका निभाएका थिए।
लिगमा महिलातर्फ नेपाल पुलिस क्लबले न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३-१ र पुरुषमा रुकुम पश्चिमले हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराउँदै च्याम्पियन बनेका छन्। लिगको सर्वोत्कृष्ट खेलाडी बनेसँगै उनीहरूले ट्रफीसहित समान रु. ६० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।
लिगको महिलातर्फ उत्कृष्ट लिबेरो न्यु डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट सेटर डायमण्डकै प्रगति नाथ तथा उत्कृष्ट स्पाइकर पुलिसकी लक्ष्मी चन्द बन्दा उत्कृष्ट सर्भर र ब्लकर दुवै विधाको उपाधि न्यू डायमण्डकी सुमित्रा रेग्मीले हात पारिन्। यस्तै, लिगमा महिलातर्फ उत्कृष्ट प्रशिक्षक च्याम्पियन नेपाल पुलिस क्लबका रुपेश बिष्ट बने।
त्यसैगरी, पुरुषतर्फ उत्कृष्ट लिबेरो रुकुम पश्चिमका राजन दर्लामी, उत्कृष्ट सेटर रुकुमकै आदन खान, उत्कृष्ट सर्भर हेल्प नेपालका पाकिस्तानी खेलाडी मुरद जेहन, उत्कृष्ट स्पाइकर रुकुमकै पाकिस्तानी खेलाडी आफ खान र उत्कृष्ट ब्ल्कर हेल्प नेपालका चिरञ्जीवी खड्का बने।
यस्तै, पुरुषमा रुकुम पश्चिमका तेज विक्रम बुढा उत्कृष्ट प्रशिक्षक बने। विधागततर्फ उत्कृष्ट बनेका महिला तथा पुरुष दुवैतर्फका खेलाडी र प्रशिक्षकले समान ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।