धरान (सुनसरी) । प्लानिङ ब्वाइज काठमाडौँ १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
गत चैत ३० गतेदेखि आयोजक राष्ट्रिय जागृति क्लबद्वारा इटहरीस्थित रंगशालामा रात्रिकालीन रूपमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
खेलको पाँचौँ मिनेटमा प्लानिङ ब्वाइजका खेलाडी रोमन भुजेलले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलाडी फागुराम थारूले २९, ३३, ६४ र ६८औँ मिनेटमा लगातार चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे भने प्रताप सिंह राईले ७८औँ मिनेटमा थप एक गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।
सातदोबाटोका तर्फबाट सकल रेग्मीले ४७औँ मिनेटमा सान्त्वना गोल गरेका थिए । आजको खेलको ‘प्लेयर अफ दी म्याच’ प्लानिङ ब्वाइजका फागुराम थारू घोषित भए । उनलाई नगद रु १० हजार प्रदान गरिएको कार्यक्रम संयोजक अनुरोध थापाले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल यही वैशाख ७ गते हुनेछ ।
विजेता टोलीले रु १० लाख र उपविजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख, सर्वाधिक गोलकर्तालाई रु २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही रु २० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।