काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशभरका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूको अनुगमनलाई तीव्र बनाउँदै एकै दिनमा २९ वटा प्रतिष्ठानको निरीक्षण सम्पन्न गरेको छ।
मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र तथा श्रम तथा रोजगार कार्यालयहरूको संयुक्त टोलीमार्फत उक्त अनुगमन गरिएको हो। मन्त्रालयले औपचारिक विज्ञप्ति जारी गर्दै निरीक्षण कार्य सम्पन्न भएको जानकारी दिएको छ।
अनुगमन कार्यमा मातहतका निकायबाट २२ प्रतिष्ठान तथा विभागीय रूपमा गठन गरिएका तीन अलग टोलीमार्फत थप ७ प्रतिष्ठान गरी कुल २९ संस्थामा निरीक्षण गरिएको उल्लेख छ। तीमध्ये सरकारी तथा निजी अस्पतालहरूलाई प्राथमिक प्राथमिकतामा राखिएको बताइएको छ।
निरीक्षणका क्रममा श्रम ऐन, नियमावली तथा सम्बन्धित कानुनी प्रावधानहरूको पालना भए–नभएको विषयमा विस्तृत अध्ययन गरिएको मन्त्रालयले जनाएको छ। विशेष गरी न्यूनतम पारिश्रमिक कार्यान्वयन, व्यवसायजन्य सुरक्षा र स्वास्थ्य अवस्था, बालश्रमको अवस्था, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा नियमित श्रम लेखा परीक्षणको अभ्यासलाई केन्द्रमा राखेर मूल्यांकन गरिएको थियो।
अनुगमनपछि केही प्रतिष्ठानमा न्यूनतम पारिश्रमिक पूर्ण रूपमा लागू नभएको, श्रम अडिट नियमित नभएको तथा सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकरण नभएको जस्ता कमी-कमजोरी देखिएको मन्त्रालयले जनाएको छ।
पहिचान भएका त्रुटिहरू सुधार गर्न सम्बन्धित प्रतिष्ठानलाई श्रम ऐन, २०७४, श्रम नियमावली, २०७५ तथा अन्य प्रचलित कानुनी व्यवस्था अनुरूप तत्काल सुधारात्मक कदम चाल्न निर्देशन दिइएको मन्त्रालयले स्पष्ट पारेको छ।