काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल मरिसस जाँदै छन् । उनी भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मरिससको राजधानी लुइसमा भोलिदेखि आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुने छन् ।
‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षक यही चैत २७ र २८ गते हुने उक्त सम्मेलन मरिसस सरकारसँगको सहकार्यमा इन्डिया फाउन्डेसनले आयोजना गर्न लागेको हो ।
सम्मेलनमा परराष्ट्रमन्त्री खनालले नेपालको राष्ट्रिय धारणा प्रस्तुत गर्ने छन्। उनले हिन्द महासागर क्षेत्रको शासन, पहाड–महासागर पारिस्थितिक सम्बन्ध तथा आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्वका विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री खनालले विभिन्न देशका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । उनी यही चैत ३० गते स्वदेश फर्कने छन् ।