विश्वकै ठूलो फिल्म उद्योगमध्येको एक बलिउड दुनियाँमा अहिले चर्चाको विषय बनेको छ ड्रग्स प्रकरण ।
चर्चित अभिनेत्रीहरूको ड्रग्स च्याट लिक भएसँगै थप रहस्यमय बनेको यो प्रकरण सुशान्त सिंह राजपूतको मृत्युसँग गएर जोडिएको छ ।
नारकोटिक्स कन्ट्रोल ब्यूरोले केही नायिकाहरुको मोबाइल फोन जफत गरेको बताइएको छ । नायिकाहरु दीपिका पादुकोण, रकुल प्रित सिंह, श्रद्धा कपुर, साराअली खानको साथमा फेसन डिजाइनर सिमोन खम्बट्टाको मोबाइल जफत गरिएको हो । यस्तै, नायिका पादुकोणकी मेनेजर करिश्मा प्रकाशको मोबाइल पनि जफत गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नायक सुशान्त सिंह राजपुतको निधनको मुद्दा ड्रग्ससँग जोडिएपछि बलिउडका केही कलाकार पनि कानुनी घेरामा आएका छन् ।
नायिका दीपिका पादुकोणले ड्रग्सको बिषयमा च्याटमा कुरा गरेपनि आफूले ड्रग्स भने सेवन नगरेको बताएकी थिइन् । यस्तै, नायिका साराअली खान, रकुल प्रित, श्रद्धा कपुरले पनि ड्रग्स सेवन नगरेको बताएका छन् ।