काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणको प्रक्रियामा जनताको अभिव्यक्त चाहनालाई कार्यान्वयन गर्न सबै पक्षलाई एकजुट हुन आह्वान गरेका छन्।
मधेसी आयोग स्थापना दिवसका अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले नागरिक स्वतन्त्रताका लागि भएका विभिन्न आन्दोलनहरूमा मधेसी समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
उनका अनुसार ती आन्दोलनहरूको मुख्य उद्देश्य स्वतन्त्रता, सामाजिक सद्भाव, न्याय, सुशासन, विकास, समृद्धि तथा राष्ट्रिय एकताको भावना सुदृढ गर्नु थियो। हालै सम्पन्न निर्वाचनबाट व्यक्त जनादेशलाई सम्मान गर्दै देश विकासको जिम्मेवारी पूरा गर्न उनले सबैलाई सक्रिय रूपमा लाग्न आग्रह गरे।
राष्ट्रपति पौडेलले मधेसी समुदायको योगदानको प्रशंसा गर्दै विगत सात वर्षमा आयोगले पहिचान र अधिकार सुनिश्चित गर्न महत्वपूर्ण आधार तयार गरेको बताए। साथै, आगामी दिनमा पनि आयोग अझ सक्रिय र प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गरे।