काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि विशेष गरी तराईका केही जिल्लामा हुरीसहित असिना पानी पर्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हावाहुरीका कारण मानवीय तथा भौतिक क्षति हुनसक्ने भएकाले अनावश्यक रूपमा घरबाहिर ननिस्कन र आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको हो।
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले मौसमी सूचनालाई बेवास्ता गर्दा नेपालमा प्राकृतिक विपद्बाट हुने क्षति बढ्दै गएको उल्लेख गर्दै समयमै सचेत हुन सुझाव दिएका छन्। उनका अनुसार हावाहुरी र असिना पानीको समयमा सवारीसाधन नचलाउने, रुख तथा बिजुलीका खम्बा नजिक नबस्ने र अनावश्यक रूपमा बाहिर ननिस्कने जस्ता सावधानी अपनाउनु आवश्यक छ।
विभागका अनुसार आज अपराह्नपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै वाग्मती, मधेस तथा कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि यस्तै खालको मौसम रहने अनुमान गरिएको छ।
विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार विशेष गरी तराई क्षेत्रमा अपराह्नपछि करिब दुईदेखि तीन घण्टासम्म ५०-६० किलोमिटर प्रतिघण्टा वेगको हुरी चल्ने सम्भावना छ। यसबाट रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको उनले बताइन्।
हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको र उक्त प्रणाली उत्तर–पूर्वतर्फ सर्दै गइरहेको विभागले जनाएको छ। देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहेको छ।
उपत्यकामा प्रभाव कम
प्रवक्ता पोखरेलले काठमाडौँ उपत्यकामा हुरीको प्रभाव तुलनात्मक रूपमा कम रहने बताएकी छिन्। तराई क्षेत्रमा बढी प्रभाव पर्ने भए पनि आत्तिनुपर्ने अवस्था नभएको र सतर्कता भने अनिवार्य रहेको उनले स्पष्ट पारिन्।
सावधानीका उपाय
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चट्याङका बेला सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। आकाशमा बिजुली चम्किन र गड्याङगुडुङ हुन थालेपछि नजिकैको सुरक्षित संरचनाभित्र पस्न सुझाव दिइएको छ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार प्रभावित क्षेत्रका बासिन्दा र यात्रुले अनावश्यक यात्रा नगर्ने, सुरक्षित स्थानमा बस्ने तथा सवारीसाधन सञ्चालन नगर्ने जस्ता सावधानी अपनाउनुपर्छ। साथै कमजोर संरचना, बिजुलीका तार र धातुका वस्तुबाट टाढा रहन र विद्युत् उपकरण नचलाउन पनि उनले आग्रह गरेका छन्।
सुरक्षित ओत नभएमा टाउको घुँडाबीच राखेर शरीर सानो बनाउँदै निहुरेर बस्ने, समूहमा भए एक अर्काबाट टाढा रहने तथा खुला स्थानमा भए होचो भूभाग वा खोँचतर्फ सर्ने उपाय अपनाउन सुझाव दिइएको छ।
आइतबारदेखि मौसम सुधार हुने
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशभर बदली, वर्षा, हिमपात र चट्याङको प्रभाव रहनेछ। शुक्रबार र शनिबार अधिकांश स्थानमा मेघगर्जन, असिना र हुरीसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।
शनिबार रातिदेखि मौसम क्रमशः सुधार हुँदै जाने र आइतबारदेखि देशका अधिकांश स्थानमा मौसम खुल्ने अनुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली र तराईमा आंशिक बदली रहने तथा केही स्थानमा मात्र हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।