काठमाडौँ— दीर्घकालीन परियोजनामा लगानी विस्तार गर्न अर्थमन्त्री रामेश्वर खनालले नागरिक लगानी कोषलाई निर्देशन दिएका छन्।
कोषको ३६औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उनले दीर्घकालीन महत्त्वका परियोजनामा लगानी गर्दा देशलाई दीगो लाभ पुग्ने भएकाले यस्तो क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए। सरकारले अघि सार्ने ठूला परियोजनामा पनि कोषले सक्रिय रूपमा लगानी गर्नुपर्ने उनको भनाइ थियो।
अर्थमन्त्री खनालले बुढी गण्डकी जलविद्युत् आयोजना अघि बढाउने निर्णय भइसकेको उल्लेख गर्दै उक्त परियोजनामा लगानी कोषसहित अन्य वित्तीय संस्थाहरूले पनि सहभागिता जनाउनुपर्ने बताए।
उनले कर प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै दोहोरो कर हटाउनुपर्नेमा जोड दिए। आफ्नो कार्यकालमा समस्या समाधान हुन नसके पनि आगामी सरकारले यसतर्फ ध्यान दिने विश्वास उनले व्यक्त गरे।
१५ देखि २० वर्षे अवधिका ऋणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले यस्ता उपकरणले बजारमा रहेको अधिक तरलता व्यवस्थापनमा सहयोग पुर्याउने बताए। साथै सार्वजनिक–निजी साझेदारीमार्फत नयाँ परियोजना अघि बढाउने र कृषि क्षेत्रमा भूमिको हदबन्दी हटाउनेतर्फ पनि ध्यान दिनुपर्ने उनको धारणा थियो।
कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेले स्थापना कालदेखि नै कोष नाफामा सञ्चालन हुँदै आएको, विभिन्न योजना विस्तार गर्दै सहभागी संख्या बढाउन सफल भएको बताए। उनले आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा कृषि, पर्यटन, ऊर्जा र पूर्वाधारजस्ता उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए।
कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले हाल सात वटा योजना सञ्चालनमा रहेको जानकारी दिँदै उपलब्ध कोषलाई पूर्वाधार क्षेत्रमा परिचालन गर्न र भेन्चर क्यापिटलमार्फत लगानी विस्तार गर्न पहल भइरहेको बताए। उनले संस्थाले यान्त्रिकीकरण र अटोमेसनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे।
ब्याजदर घट्दा कोषको आम्दानी प्रभावित भएको उनले बताए। साथै नागरिक पेन्सन योजनामार्फत सामाजिक भत्ता वितरण गर्न सकिने सम्भावना औँल्याउँदै त्यसका लागि कर संरचनामा समायोजन आवश्यक रहेको बताए।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले लगानी कोषले नयाँ वित्तीय उपकरण र परियोजनामा लगानी विस्तार गर्नुपर्ने सुझाव दिए। उनले बैंकहरूले प्रवाह गरेको कर्जा असुलीमा समेत चुनौती देखिएको धारणा राखे।