काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन र नागरिकलाई सस्तो दरमा औषधि उपलब्ध गराउन सरकारले स्वदेशी उद्योगहरूबाट एकमुष्ट (बल्कमा) औषधि खरिद गर्ने नयाँ नीति ल्याउने घोषणा गरेकी छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले औषधिको मूल्य र खरिद प्रक्रियामा रहेको विद्यमान अन्योल अन्त्य गर्न सरकारले उत्पादकहरूसँग सिधै औषधि किन्ने योजना अघि सारेको जानकारी दिइन् ।
हाल बजारमा सर्वसाधारणले महँगोमा औषधि किन्नुपरेको र अर्कोतर्फ कच्चा पदार्थको मूल्य बढे पनि उत्पादकहरूले उचित मूल्य नपाएको गुनासो आएपछि मन्त्री गौतमले दुवै पक्षलाई फाइदा हुने समाधान खोजिएको बताइन् ।
भारतमा सञ्चालित ‘प्रधानमन्त्री जनऔषधि कार्यक्रम’ को उदाहरण दिँदै उनले नेपालमा पनि ८० प्रतिशतसम्म छुटमा औषधि उपलब्ध गराउन सकिने मोडल लागू गर्ने तयारी भइरहेको उल्लेख गरिन् ।
यस विषयमा निजी क्षेत्रका औषधि उत्पादकहरूसँग छलफल भइसकेको र उनीहरूले निश्चित परिमाण र समय पहिल्यै थाहा भएमा सस्तोमा गुणस्तरीय औषधि दिन सकिने प्रतिबद्धता जनाएको उनले जानकारी दिइन् ।
मन्त्री गौतमका अनुसार सरकारले सिधै उद्योगबाट ठूलो मात्रामा औषधि खरिद गर्दा उद्योगीहरूको बजारीकरण (मार्केटिङ) र कमिसन खर्च जोगिनेछ, जसका कारण सरकारले सस्तोमा औषधि प्राप्त गर्नेछ । यसरी खरिद गरिएका औषधिको गुणस्तर सरकारी प्रयोगशालाबाट प्रमाणित गरी स्वास्थ्य बीमा कार्यक्रममार्फत जनतालाई सुलभ रूपमा वितरण गरिने उनले स्पष्ट पारिन् ।
खरिद प्रक्रियामा हुने गरेको प्राविधिक र कानुनी जटिलताका कारण कर्मचारीहरू निलम्बनमा पर्ने जस्ता समस्यालाई समाधान गर्न पनि यो नयाँ खरिद मोडेल सहयोगी हुने उनले विश्वास व्यक्त गरिन् ।