जनकपुरधाम। बडादशैँको पहिलो दिन घटस्थापनासँगै जनकपुरधामका प्रमुख शक्तिपीठहरूमा आइतबारदेखि नवरात्रको पूजा आरम्भ भएको छ। मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधामस्थित शक्तिपीठहरूमा बिहानैदेखि दर्शन र पूजाअर्चना गर्ने भक्तजनको घुइँचो लागेको छ।
जनकपुरधामको ऐतिहासिक राजदेवी मन्दिर, बौधी माई मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर र रामानन्द चोकस्थित दुर्गा मन्दिरलाई विशेष रूपमा सिँगारिएको छ। ती मन्दिरमा तान्त्रिक तथा वैदिक विधिअनुसार घटस्थापना गरी देवी दुर्गाको आराधना सुरु गरिएको हो।
राजदेवी मन्दिरमा शारदीय नवरात्रको अवसरमा घटस्थापनादेखि महानवमीसम्म विशेष पूजाआजा गर्ने परम्परा छ। मन्दिरका पुजारीका अनुसार आइतबार बिहान शुभसाइतमा गणेश, भैरव र दुर्गाका कलश स्थापना गरी वैदिक मन्त्रोच्चारणसहित पूजा आरम्भ गरिएको हो।
दशैँका अवसरमा जनकपुरधामका शक्तिपीठमा हुने विशेष पूजाआजा र दर्शनका लागि टाढाटाढाबाट समेत श्रद्धालु आउने गरेका छन्। भक्तजनको भीडलाई व्यवस्थित गर्न मन्दिर व्यवस्थापन समितिले सुरक्षा तथा दर्शनको प्रबन्ध मिलाएको जनाएको छ।
नवरात्रका नौ दिनसम्म देवीका विभिन्न स्वरूपको पूजा–आराधना गरिने भएकाले जनकपुरधामका शक्तिपीठमा धार्मिक चहलपहल बढेको छ।