काठमाडौं। नेपाली संगीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ। अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक संगीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्कको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकर्ड्स र निर्माण एनएफटीपी (नर्थ फ्राम द प्लानेट) ले गरिरहेका छन्। सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ। गीत तथा म्युजिक भिडियो एक्स्ट्रिम म्युजिक सिरिजको युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ।
पहिलो सिजनमा याबेश, एसटिम्यान, भेक, ब्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र त्रिजेन गरी नौ जना कलाकार सहभागी हुनेछन्। प्रत्येक कलाकारले आफ्नो छुट्टै संगीत शैली र सिर्जनात्मक पहिचानमार्फत सिरिजलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।
परम्परागत शैलीभन्दा फरक संगीत प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पहल गरिएको हो। एक्स्ट्रिम इनर्जी ड्रिङ्कले सिरिजमार्फत नेपाली संगीत क्षेत्रका प्रतिभालाई उजागर गर्दै स्थानीय संगीत संस्कृतिको प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरेको छ।