स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १ साता लम्बाउन सुझाव दिएको छ ।
विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिदै छ । कोरोना संक्रमण दर नघटेको भन्दै अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउने सुझाव दिएको हो ।
दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने स्वास्थ्यको मापदण्डअनुसार चल्नुपर्ने मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए । उनले भने, ‘उपत्यकामा अहिले यी दुवै मापदण्ड नाघेको छ, त्यसैले अहिले निषेधाज्ञा खोल्नु हुन्न भन्ने हो, तर यस सम्वन्धी निर्णय हामीले होइन, गृहमन्त्रालय अन्तरर्गतको स्थानीय प्रशासनले गर्नेछ ।’
अहिले पूर्ण रुपमा लकडाउन खोलिदिँदा अस्पताल र चिकित्सकहरुलाई संक्रमित व्यवस्थापन गर्न गाह्रो पर्न सक्छ । श्रेष्ठ भन्छन् ‘अहिले लकडाउन खोल्यो भने संक्रमण झन् बढ्दै जान्छ, अस्पतालमा ठाउँको पनि समस्या हुनसक्छ । त्यसैले पनि एक साता कडा रुपमा निषेधाज्ञा गर्नु नै उचित हुन्छ ।’
उपत्यका नगरपालिका फोरमले सीमाबाट प्रवेश गर्ने नाकामा कडाइ गर्ने र जनजीवन खुकुलो बनाउन पर्ने बताएको छ । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हाल जारी रहेको निषेधाज्ञा थप भए त्यसको अवज्ञा गर्ने भन्दै भाद्र २५ देखि व्यापारीहरुलाई सटर खोल्न आग्रह गरिसकेको छ ।