काठमाडौँ। कैलाली जिल्ला क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार बनेकी ईश्वरी विष्टले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्दलाई समर्थन गर्ने निर्णय गरेकी छन्।
धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा विष्टले सुशासन, पारदर्शिता र जनताको आवाज सशक्त बनाउन रास्वपासँग सहकार्य गर्ने उद्देश्य रहेको स्पष्ट गरिन्।
उनी रास्वपा धनगढी नगर कमिटीकी संस्थापक सभापति पनि हुन्। टिकट नपाएको कारणले स्वतन्त्र उम्मेदवारी दिएकी बिष्ट अब पुनः पार्टीमा फर्किएकी हुन् र परिवर्तनको पक्षमा उभिन मतदातालाई आग्रह गरेकी छन्।
करिश्मा कठरिया र उम्मेदवार चन्दले विष्टलाई पार्टीमा स्वागत गर्दै कैलाली-५ मा रास्वपाको स्थिति थप सुदृढ भएको बताए।
यसअघि जगन्नाथ चौधरी, नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार, ले पनि आफ्नो उम्मेदवारी निष्क्रिय गरी रास्वपाका उम्मेदवार चन्दलाई समर्थन गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त क्षेत्रमा १५ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।