काठमाडौं- परराष्ट्र मन्त्रालयले शनिबार एक ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इजरायल र इरानमा रहेका नेपालीलाई घरभित्रै बस्न अनुरोध गरेको छ ।
इजरायल र अमेरिकाले शनिबार बिहान संयुक्त रूपमा इरानबाट आक्रमण गरेसँगै सुरु भएको युद्धबाट नेपालीलाई सुरक्षित राख्न परराष्ट्रले ट्राभल एड्भाइजरी जारी गरेको हो ।
“नेपाल सरकारको परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा विकसित परिस्थितिलाई नजिकबाट नियालिरहेको छ,” परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरीमा भनेको छ ।
परराष्ट्रले ट्राभल एड्भाइजरीमा इजरायल र इरानका अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको कडाईका साथ पालना गर्न त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको छ ।
“सकेसम्म घर भित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, उचित सावधानी अपनाउनुहोस् र त्यहाँ रहेका नेपाली समुदायसँग नियमित सम्पर्क राख्नुहोस्,” परराष्ट्रले भनेको छ ।
इजरायल र इरानका सम्बन्धित अधिकारीहरूको पूर्वअनुमति बिना यात्रा नगर्न पनि परराष्ट्रले अनुरोध गरेको छ । कुनै समस्या परेमा काठमाडौंस्थित परराष्ट्र मन्त्रालय, इजरायलको तेल अबिबस्थित नेपाली दूतावास र कतारको दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्क राख्न भनिएको छ ।
“इजरायल वा इरानको यात्रा गर्ने योजनामा रहेका नेपाली नागरिकलाई दुवै देशको अवस्था स्थिर नभएसम्म आफ्नो यात्रा योजना स्थगित गर्न सल्लाह दिइन्छ,” परराष्ट्रले भनेको छ ।
अन्य मध्यपूर्वी देशहरूमा बसोबास गर्ने र काम गर्ने नेपाली नागरिकलाई सम्बन्धित देशका सम्बन्धित अधिकारीहरूले सुझाव दिए अनुसार घटनाक्रमहरूको निरन्तर निगरानी गर्न र सावधानी अपनाउन परराष्ट्रले भनेको छ ।
ट्राभल एड्भाइजरमिा कुनै समस्यामा परेमा परराष्ट्र मन्त्रालयको फोन नं. +९७७–९८६२६७८४३७ मा, तेल अबिबस्थित नेपाली दूतावासको टेलिफोन नं. +९७२–५४५५८२०७७ र दोहास्थित नेपाली दूतावासको टेलिफोन नं. +९७४– ६६२१ ४४१९ मा सम्पर्क गर्न भनिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार इरानमा आठजना र इजरायलमा वैध ६ हजार र अवैध दुई हजार गरी कुल आठ हजार नेपाली कार्यरत छन् ।