काठमाडौं– चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष दिनेश सिटौलाको आइतबार निधन भएको छ। उनको दिउँसो १२ बजेर ४५ मिनेटमा निधन भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
आईसीयुमा राखेर धापासी स्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। अचानक ब्रेन ह्याम्रेज भएपछि उनलाई अस्पतालमा शनिबार लगिएको थियो।
अस्पतालले आइतबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो। अछाममा रहेका बेला अचानक ढलेपछि उनलाई त्यहाँको अस्पतालले काठमाडौंमा रेफर गरेको थियो।
तत्कालै उपचारका निम्ति उनलाई अछामबाट सेनाको हेलिकोप्टरमा सुर्खेत र त्यहाँबाट विमानबाट काठमाडौं ग्रान्डी अस्पताल लगिएको थियो।
उनले चलचित्र पत्रकारितामा लामो योगदान गरेका थिए। पछिल्लो पटक बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’मा उनी मिडिया संयोजकका रुपमा पनि अनुबन्धित थिए।
रास्वपाका नेता बालेन शाहसँगै सुदूरपश्चिम र कर्णालीमा पुगेका उक्त फिल्मका निर्देशक अर्जुन घिमिरेसँगै सिटौला पनि गएका थिए। तर, उनी अचानक ढलेपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो।
