काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन जेड आन्दोलनका क्रममा आफू नेतृत्वको सरकारले गोली चलाउने आदेश नदिएको पुनः स्पष्ट पारेका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको धारणा अनुसार ओलीले उक्त दिन सरकारको निर्देशनमा गोली नचलेको र त्यस्तो कुनै आदेश जारी नगरिएको दाबी गरेका छन्। उनले सुरक्षाकर्मीहरू सरकारको आदेशभन्दा कानुनको शपथअनुसार परिचालित हुने उल्लेख गरेका छन्।
उनको भनाइ अनुसार विश्वका विभिन्न मुलुकमा प्रमुख संवैधानिक निकायहरूको सुरक्षाका लागि सुरक्षाकर्मीहरू सधैँ हतियारसहित तयारी अवस्थामा रहने प्रचलन छ र त्यसलाई सरकारी आदेशसँग प्रत्यक्ष रूपमा जोडेर हेर्न नमिल्ने उनले जनाएका छन्।
ओलीले सो घटनाका क्रममा नयाँ बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र तोडिँदासम्म पनि गोली नचलेको जिकिर गर्दै उक्त विषयमा फैलाइएका धारणाप्रति आफ्नो स्पष्टता सार्वजनिक गरेका छन्।