केन्द्रीय सरकारले आफुले किसानका लागि मल आपूर्ती गर्दैन, कुनै पहल पनि गर्दैन- स्थानीय सरकारलाई केन्द्रसंग पहल गर्न लगाईन्छ, केन्द्रका मान्छेले गैरजिम्मेदारी तरिकाले भन्छन् देश भरी मल छैन कहाँबाट आपुर्ती गर्नु?
जसको कारणले स्थानीय सरकार र त्यसका मान्छेहरु बदनाम हुन पुग्छन जसमा साच्ची भन्ने हो भने स्थानिय सरकारको कुनै दोष नै हुदैन, अनि त्यसमाथी केन्द्रले सुरक्षाकर्मी परिचालन गर्छ र सुरक्षाकर्मीको उच्च निकायले जवानहरुलाई बाटोमा खटाएर किसानहरु संग बाद बिवाद गर्न र यहाँ प्राप्त नहुने सामानहरु अरु ठाँउबाट ल्याउदै गर्दा जफत गर्न वा जरिवाना तिर्न लगाउछ जुन नियमसंगत रुपमा ठिकै भएता पनि फिल्डमा खटिने जवानहरु बदनाम हुन्छन, झै झ-गडा र कु-टपिटको शिकार हुन्छन त्यसपश्चात जफत गरेको सामानबाट आएको कमिसनले माथिका स्वघोषित भद्रहरुको स्तरोन्नती हुँदै जान्छ, त्यही कमिसनबाट भेला पारेको पैसाको भरमा केही स्वघोषित राष्ट्रबादीहरुको ब्यक्तिगत प्रमोसन हुन्छ, र फेरि भ्रष्टाचारले जडा गाड्छ र यो समाज अनि यो समाजका साधारण जनता जान अन्जानमा दिनहुँ भ्रष्टाचारको शिकार हुन पुग्छन।
तपाईले भन्नुहोला कोरोनाका कारणले मल आपुर्तिमा समस्या भयो तर त्यसो भन्दा पनि कोरोनाका कारणले देशको केन्द्रिय निकायमा खरबौँ को राहत र असिमित ऋण भित्रिएको छ, जसको मदतले अब केन्द्रमा बस्ने र उक्त राहत र सहयोग संग सिधा सम्पर्क राख्ने केही सम्माननिय भनाउँदा अनि सरकार भनेर संबोधन गराउँदाहरुको नयाँ नयाँ घर बनिन्छ, प्रोपर्टी थपिन्छ र गरिब जनता बाटोमा दूध पोख्न, तरकारी फाल्न, खेतमा आत्महत्या गर्न, गर्मीले नचाहँदा नचाहदै मर्न र चिन्ताका कारणले आफ्नै परिवारलाई मार्न बाध्य हुन्छन।
अनि त्यसपछी हाम्रा सम्माननिय प्रधानमन्त्री ज्युको संबोधन आउँछ कि म एक पैसा भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न म स्पष्ट र ईमान्दार ब्यक्ति हो, होईन प्रधानमन्त्री ज्यू हामिले तपाईलाई अब बिश्वास गर्न गाह्रो भयो, तपाईका यी राष्ट्रबादका कुराहरुले हाम्रो भोको पेट भरिएन, तपाइका ठट्टाहरुले भोकै पेटमा हासो पनि उठेन।
सम्माननिय प्रधानमन्त्री ज्यु स्थानीय सरकारलाई तपाईका कमजोरीहरुका कारणले बदनाम गर्नुपर्ने कुनै कारण देखिदैन। तपाईका ब्यवस्थाहरुका कारणले र कुर्सी मोहका कारणले किसान आ त्मह त्या गर्न र जिउँदै मरे सरह हुन बाध्य भैरहेका छन।
सम्माननिय प्रधानमन्त्री ज्यु, जुन खाना हजुरले खानु हुन्छ नि त्यो किसानले आफ्नो रगत जस्तो पसिना बगाएर उब्ज्याएको बाली हो, किसानलाई भोक भोकै राखेर तपाईलाई कसरी त्यही खाना निल्न सजिलो हुन्छ ?, किसानका आशुँहरुले बनेको पानी पिउदैँ गर्दा तपाईको आत्माले तपाईलाई पीडा दिदैन प्रधान्मन्त्री ज्यु?
तपाईको यो संघीय ब्यवस्थामा किसानका लागि मल को ब्यवस्था छैन भने त्यसको लागि आवश्यक पहल गर्नुहोस र सक्नु हुन्न भने आफ्नो ठाउँमा यी कामहरु गर्न सक्ने क्षमता भएको व्यक्त्ति राख्नका लागि जसरी बितेका दिनहरुमा तपाईले आफ्नो नीजि वा पार्टिगत बचाउका लागि संबिधानमा संसोधन गर्नुभएको थियो त्यसरी नै एउटा संशोधन अझ गर्नुहोस, एक बुँदा किसानका हितका लागि पनि थप्नुहोस। ती रोईरहेका आँखाहरु हेरेर तपाईको मन जल्नु पर्ने ठाँउमा ठट्टा गरिरहेको देख्दा अभिभावक बिहिन देशमा छौं जस्तो लाग्न थालेको छ, किसान पीडामा रुँदै छन, तपाईले त जसरी पनि आफुले खान र बस्न सक्नु हुन्छ तर यी खेतका भरमा आफ्नो भोलि बाँच्ने किसानका लागि तपाइले के गर्नुभयो प्रधानमन्त्री ज्यु ?
तपाईं आए पछि धेरै आश गरेका थियौं तर तपाईका कामहरुले हामी किसानहरुको आँखामा ल्याएको आँसु र टंटलापुर घाममा उभिएर बगाएको रगत जस्तो पसिनाको मूल्यलाई सस्तो बनाईदिएको देख्दा स्तब्ध हुन्छौं र सोच्छौं के तपाईं हुदाँ हुँदै हाम्रा राम्रा दिन आउलान त?