काठमाडौँ । निर्वाचन आयोगले २ लाख ९ हजार ५५२ जना नयाँ मतदाता थपिएको जानकारी दिएको छ। मंगलबार २३ हजार ६३८ नयाँ मतदाता थपिएका हुन्।
आयोगमा मंगलबार राति ८ बजे संकलित विवरणअनुसार नयाँ थपिएका मतदाताहरूमा पुरुष १ लाख २२ हजार ७४० जना र महिला ८६ हजार ७८५ जना रहेका छन् । अन्य २७ जना रहेका छन् ।
अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधि सभा निर्वाचन मिति घोषणा गरेपछि निर्वाचन आयोगले जेन जेड समूहलाई लक्षित गरी मतदाता नामावली संकलन कार्य गत असोज ९ गतेबाट सुरु गरेको थियो । मतदाता नामावली संकलन कार्य यही कात्तिक ३० गतेसम्म जारी रहनेछ ।
आयोगका अनुसार १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् । सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नामावली दर्ता गर्न सकिने छ ।
मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा कानुन बमोजिम मतदाता हुन योग्यता पुगेका नेपाली नागरिकहरूले आफ्नो नाम दर्ता गर्न सक्ने छन् ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नका लागि दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा ६–६ घण्टाका दरले दुई सिफ्टमा (दैनिक १२ घण्टा) सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।
यस व्यवस्थापनका लागि काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाएर सेवा प्रवाह गर्ने प्रबन्ध मिलाइएको आयोगले जनाएको छ।
अन्य जिल्लाहरूको हकमा भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापको आधारमा थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरिएको आयोगको भनाई छ।