काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको प्रथम वार्षिकोत्सवका अवसरमा ‘एन टिभी वर्ल्ड’को औपचारिक शुभारम्भ गरेका छन् ।
सिंहदरवारस्थित पिएसबी, नेपाल टेलिभिजनको परिसरमा आज आयोजित समारोहमा नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रूपमा ‘एन टिभी वर्ल्ड’ शुभारम्भ गरिएको हो । यो च्यानलले नेपाल अन्तर्राष्ट्रिय जगत्मा नेपाल बुझिने सामग्रीहरू समावेश गर्नेछ ।
कार्यक्रममा राष्ट्रपति पौडेलले पिएसबीको लोगो र मोबाइल एप सार्वजनिक गरे। नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रूपान्तरित पिएसबी नेपालले प्रथम वार्षिकोत्सव मनाएको हो । राष्ट्रपति पौडेलबाट २०८१ असोज २२ गते विधेयक प्रमाणीकरण भएको थियो ।
ऐनको व्यवस्थाबमोजिम प्रमाणीकरण भएको ३१औँ दिन अर्थात् २०८१ कात्तिक २३ गतेदेखि सो कानुन कार्यान्वयनमा आएको हो । यो ऐन कार्यान्वयनमा आएसँगै रेडियो प्रसार सेवा विकास (समिति) गठन आदेश, २०४१ अन्तर्गत गठित रेडियो नेपाल र सञ्चार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापित नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको थियो ।