काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक (डिआईजी) पदमा बढुवा भएका १३ डिआईजीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
प्रहरी नायव महानिरीक्षकहरू कुबेर कडायत, केदार ढकाल, बिष्णु कुमार के.सी., भरत बहादुर बोहरा, रबिन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ बिनोद पोखरेल र बिकाश राज खनाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
उक्त समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिको अवसरका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई दिए ।
पदोन्नति भएका प्रहरी अधिकृतहरूले आफूले प्राप्त गरेको प्रदीय जिम्मेवारीलाई अझ फरक ढङ्ले सम्पादन गरी मनोवृत्तिगत परिवर्तन गर्दै रूपान्तरण हुन उनले निर्देशन समेत दिएका छन् ।
प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थ त्यागेर अगाडि बढेमा काम गर्नका लागि मनोबल, उत्प्रेरणा र इच्छाशक्ति प्राप्त हुने चर्चा गर्दै प्रहरीको कार्यसम्पादन तथा प्रहरीले प्रवाह गर्ने सेवामा स्तरोन्नति हुने उल्लेख गरे ।
समारोहमा पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले पदोन्नतिको अवसर प्रदान गर्नुहुने सम्पूर्णप्रति आभार व्यक्त गर्दै ऐन, कानुन, नियम, नियमावली, निर्देशन तथा आफ्नो क्षमता र विवेकले भ्याएसम्म संगठनको श्रीवृद्धिमा समर्पित भई काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।