
काठमाडौँ। जेनजी आन्दोलनको क्रममा लुटिएका मध्य नेपाल प्रहरीका ८ सय भन्दा बढी हतियार अझै गायब छन् ।
२३ र २४ भदौमा देशभर भएको जेनजीको प्रदर्शनको क्रममा प्रहरीका साना ठूला गरी ११ सय भन्दा बढी हतियार लुटपाट भएको थियो ।
प्रहरी कार्यालय तोडफोड र आगजनी गर्दै हतियार लुटेर लगेको तस्बिर, भीडीओमा समेत देखिएका थिए। ती मध्ये तीन सय भन्दा बढी हतियार फिर्ता तथा सुरक्षा निकायले बरामद गरेका छन् ।
तर अझै ८ सय भन्दा बढी हतियार गायब रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हतियार खोज्नका लागि समिति नै बनाएर अहिले काम भइरहेको प्रहरीको दाबी छ ।
प्रहरीका हतियार अहिलेसम्म गायब हुँदा सुरक्षा चुनौती बढ्दो छ भने यता सुरक्षाकर्मी भने हतियार विहीन हुनुपर्ने अवस्था छ ।
लुटिएका मध्ये केही हतियार नेपाली सेनाले बरामद गरेको थियो । केही हतियार तथा पेस्तोलसहित प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको थियो । तर अझै ठूलो सङ्ख्यामा हतियार गायब रहेको पाइएको छ ।