कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।
‘विमानमा रहेका भनेर १५० जनाको विवरण टिपाइएको छ,’ विमानस्थल स्रोतले भन्यो, ‘विमानबाट ओर्लिएपछि संख्या यकिन हुने छ ।’ उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो ।
कुवेतबाट नै अर्को एउटा फ्लाइटबाट पनि बिहीबारै नेपालीहरु काठमाडौं आउँदैछन् । अर्को हवाई जहाज दिउँसो करिब दुई बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।
बुधबार नै उनीहरू आउने भनिए पनि कुवेतको र नेपालको समयतालिका नमिलेपछि रद्द भएको थियो ।
कुवेतले रातमा पठाउने भने पनि यहाँ रातमा व्यवस्थापन गर्न कठिनाइ हुने भएकाले समय मिलाउन कठिन भएको थियो ।
कुवेत सरकारले भिसाको अवधि सकिएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा कागजातबिहीन भएका विदेशी नागरिकलाई आममाफीमा सहभागी गराएर आफ्नै जहाजमार्फत स्वदेश फर्काई दिन लागेको हो ।
आममाफीमा नेपालीसहित अरु देशका नागरिक पनि सहभागी भएका छन् । उनीहरुलाई कुवेतले यसअघि नै स्वदेश फर्काएको छ ।
नेपाल सरकारको मापदण्डअनुसार कुवेतले नेपाल फर्कनेहरुको कोरोना जाँच पनि आफैंले गरिदिने छ । गएको अप्रिल २६ देखि ३० सम्म कुवेतले दिएको चार दिनको आममाफीको समयमा झण्डै तीन हजार नेपाली सहभागी भएका छन् ।
उनीहरु कुवेत सरकारले नै निर्माण गरेको सेल्टरमा बसिरहेका छन् । कुवेतले नै खाद्यान्न लगायतको व्यवस्था गरिरहेको छ । नेपालले अनुमति दिएमा कुवेत यसअघि नै पनि आममाफीमा सहभागीलाई ल्याई दिन तयार थियो ।
यस्तै अस्ट्रेलियामा समस्यमा परेका ११ नेपाली पनि बुधबार नै नेपाल फर्कने भएका छन् । यूएईबाट भने आउने, नआउने टुंगो लागिसकेको छैन । यसअघि म्यानमार र दुवई सरकारले १ सय ९४ नेपालीलाई आफै नेपाल ल्याई दिएका थिए ।
नेपाल सरकारले पनि कोरोनाका कारण विदेशमा समस्या भोगिरहेका नेपालीलाई स्वदेश फर्काउने बताए पनि अहिलेसम्म कसैलाई ल्याएको छैन । सरकारले पहिलो चरणमा २५ हजार नेपालीलाई स्वदेश फर्काउने बताए पनि ठोस रुपमा कार्यान्वयन भने भइसकेको छैन ।