नेपाली कांग्रेस जिल्ला कार्यसमिति प्यूठानले आगामी निर्वाचनमा उक्त क्षेत्र नेपाली कांग्रेसले नै पाउनुपर्ने भन्दै कांग्रेस सभापति शेर बहादुर देउवालाई पत्र पठाएको छ ।
उक्त जिल्लाका सवै पालिका सभापतिहरु, प्रदेश सभा क्षेत्रीय समितिका सभापती तथा पदाधिकारीहरुको समेतको उपस्थितिमा बसेको बैठकले आउँदो निर्वाचनमा प्यूठान जिल्लाको प्रतिनिधिसभाको उमेदवार नेपाली कांग्रेसले पाउनु पर्ने सर्वसम्मत निर्णय गरी उक्त निर्णयको एक प्रति प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई पठाएको हो ।
सिट बाँडफाँडमा अघिल्लो पटक जुन पार्टीले जितेको क्षेत्र छ अहिले पनि सोही पार्टीलाई छाड्ने आन्तरिक गृहकार्य भैरहेको बेला जिल्लाले केन्द्रलाई पठाएको पत्र केटिएम दैनिकले प्राप्त गरेको छ । जिल्लामा नेपाली कांग्रेस गठबन्धन दल भित्र र एमाले समेतलाई हेर्दा पहिलो पार्टी भएकोले गठबन्धनको जित सुनिश्चितताका लागि उक्त क्षेत्र कांग्रेसकै भागमा पार्नुपर्ने पत्रमा उल्लेख गरिएको छ ।
तर २०७४ को संघीय निर्वाचनलाई फर्केर हेर्नेहो भने उक्त क्षेत्रबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल ४७,५१४ मतका साथ निर्वाचित भएकी थिइन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका डा. गोविन्द राज पोखरेलले ३१,२८६ मत पाएका थिए । अघिल्लो निर्वाचनमा उक्त क्षेत्रमा एमाले, माओवादी र राष्ट्रिय जनमोर्चा (राजमो) ले चुनावी गठबन्धन गरेका थिए । राजमोले १६५ निर्वाचन क्षेत्रमध्ये प्यूठानमा मात्र जित हाँसिल गरेको हो ।
प्रतिनिधि सभामा एक सिट रहेको राजमो सत्ता गठबन्धनमा सहभागी भएतापनि सो पार्टीबाट निर्वाचित पौडेल अहिलेसम्म कुनैपनि मन्त्री वा राज्यमन्त्री बनेकी छैनन् र अब बन्ने सम्भावना पनि छैन ।
तर वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा सत्ता गठबन्धनमा भएतापनि राजमोबाट अघिल्लो निर्वाचन भन्दा कम सङ्ख्यामा जनप्रतिनिधिहरू निर्वाचित भए । २०७४ मा १८६ जना जनप्रतिनिधिहरू निर्वाचित गर्न सकेकोमा अहिले भने १५९ जना मात्र निर्वाचित भए, जनु १४.५१ प्रतिशतले कम हो । स्थानीय तह निर्वाचनबाट राजमोले चार पालिका प्रमुख, तीन उपप्रमुख, १४ वडाध्यक्षसहित १५९ जनप्रतिनिधिहरू निर्वाचित गर्न सफल भयो । कूल निर्वाचित भएका ३५ हजार ९७ जनप्रतिनिधिहरूमध्ये राजमोको हिस्सा शून्य ४५ प्रतिशत मात्र हो । राजमोको मत हेर्दा यसले वडाध्यक्षमा जम्मा २७,४१३ मत पाएको छ तर औसतमा यस पार्टीले पाएको मतको सङ्ख्या भने ४०, ३८८ छ ।
दुई नगरपालिकासहित नौ पालिका रहेको प्युठान जिल्लामा एउटा मात्र संघीय निर्वाचन क्षेत्र छ । कूल ६४ वडा रहेको यस जिल्लामा ३३८ जना जनप्रतनिधिहरू निर्वाचित भएर आएका छन् जसमा नेपाली कांग्रेसले ३२.२५%, एमालेले २६.३३%, माओवादी केन्द्रले २०.१२%, राष्ट्रिय जनमोर्चाले १९.५३% र स्वतन्त्रले १.७८% हिस्सा ओगट्छन् ।
प्यूठान कांग्रेसका उपसभापति समेत रहेका प्यूठान नगरपालिका उपप्रमुख देबेन्द्र बर्मा भन्छन्, ‘स्थानीय तहमा चौथौ स्थानमा रहेको राजमोलाई गठबन्धनले प्यूठान छाडिदिएको खण्डमा यहाँ अन्तरघात हुने सम्भावना बलियो छ ।’ उनले थपे, ‘मोहन विक्रम सिंहको वडामा राजमोले वडाध्यक्ष जित्न सकेन’ । झिमरुक गाउँपालिकाको ५ नम्बर वडामा गठबन्धनको तर्फबाट राजमोका देबिन्द बहादुर जि.सी र एमालेका दधिराम पोख्रेल चुनावी प्रतिस्पर्धामा थिए । पोख्रेल ६३९ मतका साथ निर्वाचित हुँदा राजमोका जिसीका ५५८ मत मात्र पाए । उक्त वडा राजमो महान्त्री मोहन विक्रम सिंह र संघीय सासंद दुर्गा पौडेलको वडा हो । दुर्गा पौडेल सिंहको धर्मपत्नी हुन् । सिंहले ६५ वर्षको उमेरमा पौडेलसँग विवाह गरेका हुन् ।
२०७४ को संघीय निर्वाचनमा त्यहाँ ८२,६४६ मत सदर भएको थियो तर २०७९ को स्थानीय तह निर्वाचनमा त्यहाँ वडाध्यक्षले पाएको सदर मत ९६,९६७ छ । यो पाँच वर्षमा त्यहाँ १४ हजार ३२१ मतदाता थपिएका छन् । बर्मा भन्छन्, ‘हामीले नेपाली कांग्रेसको १२ हजार ३०० भन्दा बढी साधारण सदस्य थप गरेका छौं ।’