आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं ५ ले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत उम्मेदवारमा नाम सिफारिस गरेको छ ।
आज बसेको क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो ।
२०७४ को संङ्घीय निर्वाचनमा सो क्षेत्रबाट ओली ५७,१३९ मतका साथ निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी २८,२९७ मतका साथ दोस्रो स्थानमा रहेका थिए । यस क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको वडा १ देखि ८ सम्म र गौरीगंज गाउँपालिकाको वडा ३,४,५ र ६ पर्दछन् ।
यस्तै झापाकै क्षेत्र नं १ बाट रविन कोइरालाको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं २ बाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, एमाले प्रदेश इञ्चार्ज देवराज घिमिरे, पवित्रा खरेल र ध्रुवकुमार शिवाकोटीको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिए ।
पाँच निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं ३ र ४ बाटसमेत आजै उम्मेदवारको नाम सिफारिसका लागि पार्टीको बैठक बसिरहेको काफ्लेले जानकारी दिए ।