झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा पुन: एमालेका रविन कोइराला र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आमनेसामने हुने भएका छन् ।
२०७० सालको प्रतिनिधि सभा निर्वाचनमा यी दुवै उम्मेदवारहरू प्रतिस्पर्धामा हुँदा कोइरालाले शर्मालाई पराजित गरेका थिए । नौ वर्षपछि यी दुवै नेताहरू फेरी आमनेसामने हुने भएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले झापा क्षेत्र नं १ बाट रविन कोइरालालाई संघीय सांसदको उम्मेदवारको रुपमा सर्वसम्मत सिफारिस गरेको छ भने नेपाली कांग्रेसले पनि महामन्त्री शर्मालाई सर्वसम्मत सिफारिस गरेको हो ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं प्रेस चौतारी झापाका इन्चार्ज मोहन काजीका अनुसार संघीय सांसदका लागि आकांक्षीहरुको नाम संकलन गर्दा कोइराला बाहेक कसैले पनि आफूलाई प्रस्ताव गरेनन् । कोइरालालाई सबैले तालि बजाएर समर्थन गरेका छन् । कोइराला पार्टीका केन्द्रीय सदस्य र झापाका सहइन्चार्ज हुन् ।
२०७४ को निर्वाचनमा पनि शर्मा उम्मेदवार थिए तर बाम गठबन्धनका राम कार्कीसँग दुई हजार ८६३ मतले पराजित हुन पुगे । महामन्त्री भएको कारणले गर्दा यसपटक सो क्षेत्र आफूले पाउँनुपर्ने शर्माको दावी छ । अघिल्लो पटक सो क्षेत्रबाट निर्वाचित भएका कार्कीलाई भने गठबन्धनले अरू कुनै क्षेत्रमा व्यवस्थापन गर्ने तयारी गरेको बुझिएको छ ।
झापाको क्षेत्र नम्बर १ मा मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुर नगरपालिकाको ९ र १०, बुद्धशान्ति गाउँपालिकाको ४,५,६,७ वडा गरी कूल २१ वडा रहेका छन् ।
वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनमा वडाध्यक्षले पाएको मत सङ्ख्या हेर्दा त्यहाँ राप्रपाको साथ लिने राजनैतिक दलका उम्मेदवारले जित निकाल्न सहज हुने देखिन्छ । वडाध्यक्षमा एमालेले ३१,२३२ मत पाएको छ जुन सत्ता गठबन्धनमा आबद्ध दलहरूका उम्मेदवारले पाएको जोडफल भन्दा १,९४७ ले बढी हो ।
त्यहाँ नेपाली कांग्रेसले २४,०५९, माओवादी केन्द्रले ३,९०५, एकीकृत समाजवादीले १,२५२ र जसपाले ६९ मत पाएका छन् । राष्ट्रिय जनमोर्चाबाट उक्त निर्वाचन क्षेत्रको कुनै पनि वडामा उम्मेदवारी परेको थिएन । गठबन्धनबाट वडाध्यक्षमा उठेका उम्मेदवारहरूले पाएको कूल मतको योगफल २९,२८५ हुन्छ ।
राप्रपाले त्यहाँ झण्डै ६ हजार मत पाएको छ । त्यसैले राप्रपाको साथ पाउने उम्मेदवारले जित निकाल्ने सक्ने अनुमान गर्न सकिन्छ ।